समाज

रुकुम पूर्वमा मासु र डेरी पसलमा अनुगमन, दर्ता र सरसफाइमा कमजोरी भेटियो



रुकुम पूर्व — रुकुम पूर्वको सिस्ने गाउँपालिका स्थित सञ्चालनमा रहेका मासु तथा डेरी पसलहरूमा अनुगमन गरिएको छ। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वको आयोजनामा मंगलबार भएको अनुगमनमा पसलहरूको दर्ता, मूल्य सूची र सरसफाइ अवस्थाबारे निरीक्षण गरिएको हो।

सिस्ने गाउँपालिका–५ टाकुरा र वडा नम्बर–६ छिप्रिदहमा रहेका १० वटा मासु पसल र २ वटा डेरी पसलमा गरिएको अनुगमनमा अधिकांश पसलहरू अव्यवस्थित, फोहोर रहेको, कानुनीरूपमा दर्ता नभएको र मूल्य सूची नराखिएको भेटिएका छन् ।

अनुगमन टोलीले व्यवसायीहरूलाई पसल दर्ता गर्न, मूल्य सूची प्रस्ट राख्न तथा सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन्। व्यवसायमा सुधार नभएमा जरिवाना गरिने चेतावनीसमेत दिइएका छन्। “पुनः अनुगमनमा यस्तै त्रुटि देखिए पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरिनेछ,” सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काले बताए।

यसै क्रममा कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले आगामी दिनमा अन्य पालिकाहरूमा पनि नियमित अनुगमन सञ्चालन गर्ने आश्वासन दिएको छ ।

कार्यक्रममा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, वडा नम्बर–६ का वडाध्यक्ष पूर्ण बहादुर मल्ल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भोला प्रसाद शर्मा, उद्योग वाणिज्य संघ रुकुम पूर्वका उपाध्यक्ष चेतकुमार बीसी, सिस्ने गाउँपालिकाका पशु प्राविधिक भीमबहादुर झाक्री, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि हरिबहादुर थापा, कृषि अधिकृत थलराज बस्नेत, पशु चिकित्सक बिमलराज जीसी, पशु सेवा अधिकृत छविलाल घर्तीसहित सरोकारवाला निकायका प्रतिनिधिहरू र पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १७ असार २०८२, मंगलबार, ,