समाज

कमलदह परिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न



रुकुम पूर्व,- रुकुम पूर्वको नमूना विद्यालय रुक्मिणी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालनमा रहेको विद्यार्थी समुह ईको क्लबको आयोजनामा कमलदह परिसरमा वृक्षरोपण तथा सामुदायिक वन सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

सोमबार विद्यालय बन्द भएपछि कमलदह क्षेत्र वरपर फोहोर व्यवस्थापनमा समस्या देखिएको भन्दै क्लबमा छलफल गरिएको थियो। छलफलपछि कागज, प्लास्टिकलगायतका फोहोरलाई एकै ठाउँमा संकलन गरी डस्टबिनमा राख्ने तथा सडकको दुबै छेउमा सरसफाइ गर्ने निर्णय गरिएको क्लबका उपाध्यक्ष शक्ति वि.क.ले बताए।

यसै सन्दर्भमा असार १६ गते कमलदह परिसरमा वृक्षरोपण गरिएको हो। त्यसैगरी ईको क्लबले आगामी असार १९ गते पुनः सरसफाइ अभियान तथा वृक्ष रोपण कार्यक्रम गर्ने निर्णयसमेत गरेको उपाध्यक्ष वि. कले जानकारी दिए । कार्यक्रमको तयारी तथा समन्वय कार्य क्लब, शिक्षकहरू र कमलदह संरक्षण समितिबीच सहकार्यमा हुने तय भएको थियो ।

उक्त कार्यक्रम गर्ने निर्णय क्लबका उपाध्यक्ष शक्ति विकको अध्यक्षतामा असार १२ गते बसेको बैठकबाट पारित गरिएको थियो । सोही निर्णयअनुसार सम्पूर्ण क्लबका कार्यसमिति, शिक्षक तथा विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रकाशित : १७ असार २०८२, मंगलबार, ,