थाइल्यान्डबाट आएका एक यात्रु जीवित सर्पसहित पक्राउ परेका छन्। यो महिना मात्र भारतको विमानस्थलमा भएको तेस्रो वन्यजन्तु तस्करी प्रयास हो ।
मुम्बईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले आइतबार थाइल्यान्डबाट आएका एक यात्रुलाई रोकेर उनको साथबाट १६ वटा जीवित सर्प बरामद गरेका छन्। भन्सार विभागले विज्ञप्ति जारी गर्दै भन्यो, “थप अनुसन्धान जारी छ।”
बरामद गरिएका सर्पहरू प्रायः घरपालुवा जनावरका रूपमा बेचिने सरीसृप प्रजातिका थिए। तीमध्ये अधिकांश विषरहित थिए भने केहीमा निकै कम मात्र विष रहेको जनाइएको छ। बरामद प्रजातिमा गार्टर सर्प, राइनो र्याट सर्प र केन्याली स्यान्ड बोआ पनि थिए ।
यसअघि, जुन महिनाको सुरुमा पनि भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक यात्रुबाट दर्जनौँ विषालु भाइपर सर्प बरामद गरेका थिए। त्यसको केही दिनपछि अर्का यात्रुको साथबाट छेपारो, सानबर्ड र रूख चढ्ने पोसमजस्ता वन्यजन्तुहरू बरामद गरिएको थियो।
वन्यजन्तु तस्करी नियन्त्रणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ट्राफिक का अनुसार विदेशी घरपालुवा जनावरप्रतिको मागका कारण भारत–थाइल्यान्ड हवाई मार्ग तस्करीको लागि ‘चिन्ताजनक केन्द्र’ बन्दै गएको छ ।
रिपोर्टअनुसार पछिल्लो साढे तीन वर्षमा भारत–थाइल्यान्ड हवाई मार्ग हुँदै सात हजारभन्दा बढी जीवित तथा मृत जनावरहरू जफत गरिएका छन् ।








प्रतिक्रिया