बिचार

मोबाइलको पर्दा पछाडि हराउँदै गएको जीवन



आजको युगमा मोबाइल हातमा नहुँदासम्म मन अधुरो लाग्छ। तर सोच्नुस्, एक समय यस्तो पनि थियो —

  • जब हामी आमाबुबासँग रातभरि गफ गर्थ्यौं,
  • जब दाजुभाइ, दिदीबहिनी एक अर्कालाई जीवनका रहस्य
    “सुनाउँथ्यौं ।
  • जब बेलुकी घरको आँगनमा बस्दा अनुहार हेरिन्थ्यो, स्क्रिन होइन ।
    त्यो समय फेसबुक थिएन, तर आत्मीयता थियो ।
    टिकटक थिएन, तर टिकिरहने सम्बन्ध थियो ।
    मोबाइल थिएन, तर मनको संवाद थियो ।

आजभोलि घरभित्र अनेक व्यक्तिहरू छन्, तर एक अर्काको ध्यान छैन।
बुबा छोरासँग कुरा गर्न खोज्छन् — छोरा इयरफोन लगाएर ‘अनलाइन’
आमा भान्सामा बोलाउँछिन् — छोरी इन्स्टाग्राममा व्यस्त
दाजुबहिनी एउटै कोठामा हुन्छन् — तर एक अर्काको “स्टोरी” मात्रै देख्छन्, मनको कथा सुन्दैनन् ।
“शरीरहरू नजिक छन्, तर मनहरू टाढा टाढा भासिंदै गएका छन् ।”

मोबाइलका कारण टुट्दैछन् सम्बन्धहरू

कसैले कसैको आँखा हेरिरहेको छैन, सबैको आँखा मोबाइलको स्क्रिनमा छ।
घरमै बसेर आफन्तजस्ता अनुहारहरू अनजानजस्ता लाग्न थालेका छन् ।
साथीसँग गफ गर्न बसेका छौं — तर मोबाइल चिहाउँदैछौं ।
कुनै दिन हात खाली हुन्थ्यो, तर मन भरिभराउ हुन्थ्यो ।
आज हातमा मोबाइल छ — तर मनमा खालीपन छ ।

पुराना दिनहरूको याद: जब आत्मीयता थियो
एक समय थियो:

  • घरमा अन्न नभए पनि मनभित्र माया भरिपूर्ण थियो।
  • कोठाभित्र टेलिभिजन नभए पनि आँगनमा हाँसो गुञ्जिन्थ्यो।
  • फोटो खिच्न क्यामेरा खोज्नु पर्थ्यो, तर यादहरू मनभित्र बाँच्थे।
    आज सबै हातको मोबाइलमा छ — तर यादहरू असल होइन, ‘कन्टेन्ट’ बन्न थालेका छन्। आजको प्रश्न: हामी मोबाइल बोकेका मानिस हौं कि, मोबाइलले बोकेका मान्छे?

– के हामीले परिवार भन्दा फेसबुकलाई बढी समय दिएका छौं?
– के बच्चाले हाँसेको भिडियो पोस्ट गर्न खुसी हुन्छौं, तर त्यो हाँसोको अर्थ बुझ्न समय छैन?
– के हामी झगडासमेत लाइभ गर्छौं, तर मेलमिलाप आफैँसँग गर्न सक्दैनौं?
– के फेसबुकको ‘लाइक’ नै हाम्रो आत्मविश्वासको मापन बन्न थालेको छ?

अब पनि ढिलो भइसकेको छैन

  • मोबाइल बन्द गरौं, मन खोलौं
  • सामाजिक सञ्जाल घटाऔं, सामाजिक संवाद बढाऔं
  • परिवारसँग टेबलमा बसेर खानपिन गरौं, स्क्रिन हेरेर होइन
  • साथीसँग हाँसो गरौं, ‘रिल’ बनाउने होइन — रियल बनौं
  • बालबालिकालाई मोबाइल होइन, माया दिऔं
  • बुबाआमालाई लाइक होइन, साथ दिऔं

साँचो खुशी डिजिटल पर्दा होइन, आत्मीय स्पर्श हो

स्मार्टफोन, फेसबुक, टिकटक, युट्युब — यी सबै जीवन सजिलो बनाउने साधन हुन् । तर जब यिनै साधनले हामीलाई नियन्त्रण गर्न थाल्छ, तब जीवन सजिलो होइन, संकटपूर्ण बन्छ ।
फेसबुकमा होइन, परिवारको अनुहारमा रमाऔं ।
टिकटक होइन, टेबलमा बसेर टी–टाइम रमाइलो गरौं ।
मोबाइल होइन, मनको आवाज सुन्ने बानी बसालौं।
“हामी स्मार्टफोन सधैं साथ रहने साथी हो भनेर भरोसा गर्छौं, तर बिर्सिन्छौं — एक दिन त्यो पनि पुरानो मोडेल बनेर कुनामा थन्किन्छ, तर परिवार र आत्मीय सम्बन्ध कहिल्यै मोडल फेरिदैनन्।”

प्रकाशित : १६ असार २०८२, सोमबार, ,