राजनिती

प्रधानमन्त्री ओली स्पेन प्रस्थान



देशको विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी र सहयोगलाई सुदृढ बनाउने उद्देश्यसहित प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने स्पेन भ्रमणमा निस्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ कतार एयरवेजमार्फत स्पेनका लागि प्रस्थान गरेका ओलीसँग उच्चस्तरीय २१ सदस्यीय प्रतिनिधिमण्डल रहेको छ।

उनीहरू स्पेनको सेभिया शहरमा असार १६ देखि सुरु हुने “विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन”मा सहभागी हुँदैछन्। सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्पविकसित राष्ट्रहरूको तर्फबाट अध्यक्षको भूमिकामा सम्बोधन गर्नेछन्।

भ्रमण अवधिभर प्रधानमन्त्री ओलीले विश्वका प्रमुख नेताहरूसँग अनेकौँ महत्वपूर्ण भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ। स्पेन, इजिप्ट, पोर्चुगल, र स्तोनियाका प्रधानमन्त्री तथा राष्ट्रपतिको साथसाथै, संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेससँग पनि विशेष बैठक हुनेछ।

त्यस्तै, उनले विभिन्न साइड-इभेन्टहरूमा जलवायु वित्त, दिगो विकास, सरसफाइ, र अन्तर्राष्ट्रिय सहयोगमा आधारित विषयमा सम्बोधन गर्नेछन्। गेट्स फाउण्डेशन, बंगलादेश, लाओजस्ता मित्र राष्ट्रहरूसँग सहकार्यसम्बन्धी छलफलसमेत कार्यतालिकामा समावेश गरिएको छ।

भ्रमणको अन्तिम दिन उनी म्याड्रिडस्थित रियल म्याड्रिड फुटबल क्लबको रंगशाला सान्तियागो वर्नाबेउको अवलोकन गर्नेछन्। साथै, स्पेनमा रहेका नेपाली समुदायसँग विशेष भेटघाट कार्यक्रमसमेत हुनेछ।

प्रधानमन्त्री ओली असार २० गते दिउँसो स्वदेश फर्कने तालिका छ।

प्रकाशित : १४ असार २०८२, शनिबार, ,