काठमाडौँ, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गत पत्नी सीता दाहालको दोस्रो स्मृति दिवस मानवसेवा आश्रम, रानीवन सेवा केन्द्रमा मनाएका छन्।
उक्त अवसरमा उनले आश्रममा आश्रित २५० सहयोगापेक्षीलाई खाद्यान्न तथा एक लाख रुपैयाँ नगद सहयोग गरे र आफ्नै हातले भोजन वितरण पनि गरे। दाहालले स्मृति दिवसको दिनलाई मानवीय सेवामा समर्पण गर्नुको उद्देश्य सबैमा सकारात्मक प्रेरणा फैलाउनु रहेको बताए।
कार्यक्रममा उनले आफ्नो प्रधानमन्त्री कार्यकालमा आश्रमका लागि सात वटा गाडी उपलब्ध गराउने निर्णय भए पनि कार्यान्वयन नहुनुमा चिन्ता व्यक्त गर्दै पहल गर्ने आश्वासन दिए।
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले संस्थाको गतिविधि र भावी योजना जानकारी गराउँदै २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने अभियानबारे बताए।



































प्रतिक्रिया