असार १९,
विश्व फुटबल प्रेमीहरूका लागि दुःखद खबर आएको छ। इंग्लिस क्लब लिभरपुलका फरवार्ड खेलाडी डिओगो जोटा र उनका भाइ आन्द्रे स्पेनमा भएको कार दुर्घटनामा ज्यान गुमाएका छन्।
स्पेनको जामोरा प्रान्तमा गाडी अनियन्त्रित भई सडकबाट तल खसेपछि आगलागी भएको थियो। उक्त कारमा सवार जोटा र उनका भाइ दुबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
भर्खरैको विवाह, अबको बिदाइ
२८ वर्षीय जोटा केही समय अघि मात्र, जुन २२, मा आफ्नो प्रेमिका कार्डोसोसँग विवाह गरेका थिए। नयाँ जीवन सुरु गरेको दुई साता नपुग्दै जोटाको जीवन अन्त्य हुनु सबैका लागि स्तब्ध बनाउने घटना बन्यो।
फुटबल यात्राको अन्त्य
जोटा सन् २०२० मा वुल्भ्स क्लबबाट लिभरपुलमा अनुबन्धित भएका थिए। उनले लिभरपुलका लागि १८२ खेल खेलेका थिए, जसमा उनले ६५ गोल र २६ असिस्ट गरेका थिए। मैदानमा उनको गति, गोल गर्ने क्षमताले उनी क्लबका प्रिय खेलाडी बनेका थिए।
दाजुभाइको एकसाथ अन्त्य
जोटाका भाइ आन्द्रे पनि फुटबल खेलाडी थिए। एउटै सपना बोकेका दुई दाजुभाइ एउटै कारमा सवार थिए, र उनीहरूको जीवन एउटै दुर्घटनामा समाप्त भयो।
विश्वभर शोकको छाया
बीबीसी स्पोर्ट्स र स्काइ स्पोर्ट्स लगायत विश्वका ठूला मिडियाले समाचार प्रकाशित गरेका छन्। लिभरपुल क्लब, फुटबल खेलाडीहरू र फ्यानहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।














प्रतिक्रिया