रुकुम पूर्व । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा आगामी प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीवार रुकुम पूर्व आउन लागेका छन् । जिल्ला पार्टी कार्यालय रुकुम पूर्वका अनुसार प्रचण्डको रुकुम पूर्व आउने कार्यक्रम तय भएको हो ।
पार्टीका जिल्ला संयोजक कुमारी बराल गौतमका अनुसार प्रचण्ड हाल राजधानी काठमाडौं र पोखरा हुँदै रुकुम पूर्व आउने तयारीमा छन् । उनका अनुसार पूर्वप्रधानमन्त्री प्रचण्ड साँझसम्म रुकुम पूर्व पुग्ने कार्यसूची रहेको छ ।
पार्टीका जिल्ला इन्चार्ज तेजबहादुर ओली “प्रतिक” का अनुसार बिहीवार साँझ भूमे–१ नम्बर वडामा जनभेटघाट कार्यक्रम रहेको छ । शुक्रवार बिहान लबाङ, धर्मशाला र महतमा जनभेटघाट गर्ने कार्यसूची छ भने दिउँसो १२ बजे प्रचण्डले जनयुद्ध दिवसका अवसरमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै, शुक्रवार साँझ चुनवाङ उपस्थित भई शनिवार बिहान ७ बजे शान्ति प्रक्रियाको अन्तिम बैठक बसेको ऐतिहासिक स्थल भेडीडाँडामा जनभेटघाट कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि पुनः चुनवाङमा जनभेटघाट कार्यक्रम रहने जिल्ला इन्चार्ज ओलीले जानकारी दिए ।
शनिवार साँझ तकसेरा पुगेर त्यहाँको कार्यक्रमलाई सम्बोधन गर्ने तथा विभिन्न पछाडि परेका स्थानमा समेत प्रचण्डको उपस्थिति रहने बताइएको छ । त्यस्तै, कार्यक्रम फागुन ६ गतेसम्म मौकोट, चारगाउँ हुँदै सिस्ने–२, नायगाडसम्म पुग्ने कार्यसूची रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्ड रुकुम पूर्व आउने भएपछि यहाँको राजनीतिक माहोल तातिएको छ ।



































प्रतिक्रिया