स्थानीय सरकार

जोखिमपूर्ण खोला पारको अन्त्य, मैकोटमा बेलीब्रिज उद्घाटन



१० जेठ । वर्षौँदेखि बर्खायाममा आवतजावतको समस्या झेल्दै आएका रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका – १ मैकोटका स्थानीयवासीको सास्ती अन्ततः अन्त्य भएको छ । मैकोट खोलामाथि निर्माण गरिएको बेलीब्रिज आईतबार उद्घाटनसँगै सञ्चालनमा आएको छ।

पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक मैकोट खोला वर्षात्को समयमा उर्लिँदा गाउँ नै बाहिरी संसारबाट अलग हुने अवस्था रहँदै आएको थियो । खोलामा पुल नहुँदा स्थानीयले बिरामीलाई अस्पताल पुर्‍याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत ठूलो जोखिम मोल्नुपर्ने बाध्यता थियो ।

संघीय तथा प्रदेश सरकारसँग पटक – पटक पुल निर्माणको माग गरिए पनि सुनुवाइ नभएपछि पुथा उत्तरगंगा गाउँपालिकाले आफ्नै स्रोत करिब १ करोड ५० लाख बजेट विनियोजन गरी बेलीब्रिज निर्माण गरेको हो । गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले पुलको उद्घाटन गर्दै नागरिकको आधारभूत समस्या समाधान गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताए ।

उनले जनताको आवश्यकता तत्काल सम्बोधन गर्नुपर्ने अवस्थामा माथिल्लो तहको सरकारको प्रतीक्षा गरेर बस्न नसकिने भन्दै आवश्यक परे स्थानीय स्रोतबाटै विकास निर्माणका कामलाई निरन्तरता दिइने बताए ।

पुल सञ्चालनमा आएसँगै बर्खायाममा अवरुद्ध हुने जनजीवन सहज बन्ने अपेक्षा गरिएको छ । स्थानीयवासीका अनुसार हरेक वर्ष जेठदेखि कार्तिकसम्म खोला तर्न नसक्दा गाउँका नागरिकले स्वास्थ्य, शिक्षा र बजार पहुँचमा गम्भीर समस्या भोग्दै आएका थिए । स्थानीय पाना पुनले पुल बनेपछि वर्षौँदेखिको समस्या समाधान भएको बताए । उनका अनुसार अब बिरामी अस्पताल लैजान, विद्यार्थी विद्यालय जान तथा कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने भएको छ ।

मैकोट क्षेत्र उत्तर – दक्षिण जोड्ने रणनीतिक महत्वको शहीद मार्ग अन्तर्गत पर्छ । कोईलाबास – दाङ – होलेरी- थवाङ हुँदै रुकुमपूर्वका काक्री, तकसेरा, हुकाम र मैकोट जोडेर डोल्पासम्म पुग्ने सडकखण्डका धेरै भाग अझै स्तरोन्नतिको पर्खाइमा छन् । पूर्वाधार अभावका कारण हिमाली क्षेत्रका नागरिकले विकासको प्रत्यक्ष अनुभूति गर्न नसकेको स्थानीयको गुनासो छ ।

समाजसेवी चन्द्र रसाइलीले पेल्मादेखि सिस्नेसम्म सडक स्तरोन्नति र आवश्यक पुल निर्माण सम्पन्न भए जिल्लाको प्रमुख यातायात समस्या समाधान हुने बताए । यस्तै, सवारी चालक भागी विकले पुल निर्माणसँगै यात्राको जोखिम घट्ने र यातायात सेवा नियमित सञ्चालन गर्न सहज हुने धारणा राखे ।

१३ नम्बरका वडा अध्यक्ष शिविसन शेर्पालीले पक्की पुल निर्माणका लागि पटक – पटक पहल गर्दा पनि कुनै निकायबाट ठोस काम नभएपछि बेलीब्रिज निर्माणको विकल्प रोज्नुपरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत धुर्व विकका अनुसार विगतमा छरिएर खर्च हुने बजेटलाई एकीकृत गरी प्रत्यक्ष जनआवश्यकतासँग जोडिएका योजनामा लगानी गरेपछि पुल निर्माण सम्भव भएको हो ।

गाउँपालिकाले अन्य दुई स्थानमा निर्माण सम्पन्न भएका बेलीब्रिजसमेत छिट्टै उद्घाटन गर्ने तयारी गरेको जनाएको छ । पुल सञ्चालनमा आएसँगै दुर्गम बस्तीका नागरिकको आवतजावत, व्यापार, कृषि उत्पादन ढुवानी तथा सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : १० जेष्ठ २०८३, आइतबार, ,