राजनिती

रुकुमपूर्वमा निर्वाचन तयारी तीव्र



आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रुकुमपूर्वमा निर्वाचन तयारी तीव्र बनाइएको छ । यसैक्रममा शुक्रबार सिस्ने गाउँपालिका – ५ स्थित रुकुमकोटको कमलदह नजिक रहेको पाहुनाघरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा आवश्यक प्रशासनिक तथा व्यवस्थापन तयारी अघि बढाउन कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । उनका अनुसार रुकुमपूर्वमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको छ ।

कार्यालय सञ्चालनमा आएपछि अब निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि अघि बढाइने शर्माले बताए । हाल जिल्लामा पुरुष मतदाता १७ हजार ५ सय ८२ जना र महिला मतदाता १७ हजार १ सय ९० जना गरी कुल ३४ हजार ७ सय ७२ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनको तुलनामा यसपटक ६ सय ६० मतदाता थपिएका छन् । जिल्लामा ४४ मतदान स्थल र ५६ मतदान केन्द्र रहनेछन् ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ता माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । सोही दिन साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । उम्मेदवारविरुद्ध उजुरी दिने समय माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ भने उजुरीमाथि जाँचबुझ गरी निर्णय माघ ७ र ८ गते गरिनेछ ।

यसैगरी माघ ८ गते साँझ उम्मेदवारको नामावली प्रकाशन, माघ ९ गते उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन तथा सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, मुख्य निर्वाचन अधिकृत एवम् रुकुमकोट जिल्ला अदालतका जिल्ला माननीय न्यायाधीश शिवप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदी, नेपाली सेनाका सेनानी चित्रबहादुर बुढाथोकी, नेपाल प्रहरीका डीएसपी उमाशंकरप्रसाद यादव, सशस्त्र प्रहरीका डीएसपी संगीत भट्ट, अनुसन्धान अधिकृत सुमनकुमार भण्डारी, जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मा तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको समेत उपस्थिति रहेको थियो ।।

प्रकाशित : ३ माघ २०८२, शुक्रबार, ,