राजनिती

राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश बोकेर केशव रावलको रुकुम–काठमाडौँ एकल पैदल यात्रा सम्पन्न



नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता केशव रावलले राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश बोकेर सुरु गरेका थिए रुकुमदेखि काठमाडौँसम्मको एकल पैदल यात्रा, १५औँ दिनमा काठमाडौँ आइपुगेर सम्पन्न भएको छ ।

२०८२ पुस १ गते रुकुमपूर्व सिस्ने गाउँपालिका–८, स्यालापाखाबाट सुरु गरिएको उक्त एकल पैदल यात्रा रुकुमकोट, लुगुम, बागलुङ, कास्की, तनहुँ, चितवन र धादिङ हुँदै मंगलबार काठमाडौँस्थित पेरिसडाँडामा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालयमा पुगेर समापन भएको हो ।

यात्राका क्रममा केशव रावलले देशभर राष्ट्रिय एकता, शान्ति, सामाजिक सद्भाव र समृद्धिको आवश्यकताबारे जनतासँग प्रत्यक्ष संवाद गरेका थिए । विभिन्न स्थानमा स्थानीय बासिन्दा, शुभेच्छुक तथा समर्थकहरूले यात्राप्रति ऐक्यबद्धता जनाउँदै स्वागत गरेका थिए ।

रावलले यस यात्रामार्फत जनताको समस्या नजिकबाट बुझ्ने, राजनीतिक सचेतना अभिवृद्धि गर्ने र समृद्ध नेपाल निर्माणका लागि सबै पक्ष एकताबद्ध हुनुपर्ने सन्देश दिन खोजेका थिए । उहाँका अनुसार यस्ता एकल अभियानले राजनीतिक नेतृत्व र जनताबीचको दूरी घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

यस अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केशव रावलप्रति धन्यवाद व्यक्त गरेका थिए । दाहालले रावलको प्रतिबद्धता र दृढताको प्रशंसा गर्दै उहाँलाई पार्टी, आन्दोलन र विचारप्रति निरन्तर इमानदारीका साथ उभिने साहसी युवा नेता भएको उल्लेख गरेका थिए । सही ठानेको कुरामा दबाब र कठिनाइका बाबजुद पनि अडिग रहने रावलको चरित्र प्रेरणादायी रहेको बताउँदै यस्ता कार्यशैलीले पार्टी र आन्दोलनलाई थप बल पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका सह–संयोजक मानवकुमार नेपालसहित पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो भने पत्रकारहरूको पनि सक्रिय उपस्थिति देखिएको थियो ।

प्रकाशित : १६ पुस २०८२, बुधबार, ,