आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुकुम पूर्वबाट उम्मेदवारहरूको नाम सिफारिस गरेका छन् ।
नेकपा रुकुम पूर्वको पुस ९ गते बसेको पूर्ण बैठक र पुस १० गते बसेको जिल्ला कार्यालय बैठकको निर्णयअनुसार प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ ९ जनाको नाम केन्द्रीय पार्टी कार्यालयमा सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ गणेशमान पुन, दलजित शेर्पाली, तेजबहादुर ओली, जितमान पुन, सुबोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सर्जना कार्कीको नाम सिफारिस गरिएको नेकपा रुकुम पूर्व स्रोतले जनाएको छ । एक जनामा सहमति हुन नसकेपछि ९ जनाको नाम केन्द्रमा पठाइएको बताइएको छ ।
स्रोतका अनुसार पुस ९ गते बसेको जिल्ला पार्टी बैठकमा १५ जनाले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ दाबी प्रस्तुत गरेका थिए, जसलाई घटाएर बिहीबार बसेको बैठकले ९ जनामा सीमित गरेको हो ।
यसैगरी, प्रतिनिधि सभा समानुपातिक तर्फ नेकपा रुकुम पूर्वले ५ जनाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ सुनिता बुढा (महिला), दिपेन्द्र छन्त्याल (अल्पसंख्यक), टिकाराम उपाध्याय (अन्य), हर्कबहादुर कामी (दलित) र उपेन्द्रलाल कामी (दलित) को नाम सिफारिस गरिएको छ ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि रुकुम पूर्वबाट उम्मेदवार सिफारिस गरेको छ । राप्रपा रुकुम पूर्वले प्रत्यक्ष र समानुपातिक गरी कुल ६ जनाको नाम सिफारिस गरेको जनाएको छ । प्रत्यक्षतर्फ केशवचन्द्र समाल (मदन शाह) र समानुपातिकतर्फ लोकजंग शाह, मनिषा विक, जोडे बुढा, भक्ति पुन र डिल्लीबहादुर शाहीको नाम सिफारिस गरिएको छ ।
११ पुस २०८२, शुक्रबार, ,


































प्रतिक्रिया