रुकुम पूर्व । अखिल क्रान्तिकारीका उपाध्यक्ष सन्दीप पुनले जनयुद्ध र जेनजी आन्दोलनलाई आधा क्रान्ति मात्र भएको भन्दै अबको राजनीतिक मोडेल रुकुम पूर्वबाट तय गर्नुपर्ने बताएका छन् ।
बुधवार अखिल क्रान्तिकारी रुकुम पूर्वद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व २०८२ को अवसरमा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै पुनले वर्तमान अवस्थामा नयाँ राजनीतिको सुरुवात रुकुम पूर्वबाटै हुनुपर्नेमा जोड दिए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनयुद्धले अघि सारेका मूल एजेन्डा पूरा नहुँदा आन्दोलन अपूरो बनेको टिप्पणी गरे । “जनयुद्धको एजेन्डा पनि आधा भयो, जेनजी आन्दोलन पनि आधा क्रान्ति भयो,” पुनको भनाइ थियो ।
विदेशी हस्तक्षेप र आन्तरिक उतार–चढावका कारण मूल लक्ष्य पूरा हुन नसकेको बताउँदै पुनले पूरा हुने खालको राजनीतिक यात्रा रुकुम पूर्वबाट तय गर्नुपर्नेमा जोड दिए ।
माइतीघरमा भएको जेनजी आन्दोलनको स्मरण गर्दै उनले नेतृत्वको अभाव र बाह्य शक्तिको प्रयोगका कारण आन्दोलन कमजोर भएको उल्लेख गरेका छन् । पुनले राजावादी शक्तिले समेत उक्त आन्दोलनलाई उपयोग गर्न खोजेको दाबी गरेका छन् ।
आगामी आन्दोलनमा माओवादीले नेतृत्व गर्नुपर्नेमा जोड दिँदै पुनले भने, “अब हुने आन्दोलनको मोडेल रुकुम पूर्वबाट सुरु गर्नुपर्छ, यहीँबाट नयाँ अभ्यासको थालनी गरौँ ।”
कार्यक्रमको मोडेलमा पार्टी नेताहरूमा एकरूपता आवश्यक रहेको बताउँदै पुनले रुकुम पूर्वबाट नयाँ राजनीतिक अभ्यासको सुरुवात गर्ने समय आएको धारणा राखेका छन् ।








प्रतिक्रिया