राजनिती

हरेक पर्वलाई साझा उत्सवको रूपमा मनाउनुपर्छ : अध्यक्ष रसाइली



रुकुम पूर्व । अखिल (क्रान्तिकारी) रुकुम पूर्वका अध्यक्ष चन्द्र रसाइलीले धर्म, जात र समुदायको फरक नदेखाई सबै पर्वलाई साझा उत्सवको रूपमा मनाउनुपर्नेमा जोड दिएका छन् ।

विजयादशमी, शुभ दीपावली तथा छठ पर्व–२०८२ को अवसरमा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले “हरेक पर्व समग्र नेपालीको साझा संस्कार हो” भन्दै सबैलाई एकताबद्ध भएर उत्सव मनाउने आग्रह गरेका हुन् ।

रसाइलीले पार्टी र आन्दोलनलाई नयाँ पुस्ताले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै धर्मनिरपेक्षता र समाजवादको लक्ष्य पनि युवा पुस्ताकै हातमा हस्तान्तरण गर्नुपर्ने विचार व्यक्त गरेका छन् । “विचार, असन्तुष्टि र नयाँ सोचको आधारमा पार्टीलाई समयअनुसार अघि बढाउनुपर्छ,” उनले भने ।

२०६२/६३ को जनआन्दोलनपछि मात्र समाजवाद स्थापना हुने धारणालाई अव्यावहारिक बताउँदै उनले टिप्पणी गरे, “चिया पिउँदैमा समाजवाद पुग्दैन, नयाँ तरिकाले अगाडि बढ्नुपर्छ ।” उनका अनुसार युवापुस्ताको भावना समेटेर व्यवहारिक कदम चाल्न नसकेसम्म समाजवादको लक्ष्य हासिल गर्न कठिन छ ।

पार्टीभित्र सकारात्मक र नकारात्मक पक्षको स्पष्ट पहिचान गरी राम्रोलाई राम्रो र गलतलाई गलत भन्न सक्ने संस्कार विकास नगरेसम्म संगठन सुदृढ नहुनेमा उनले जोड दिए । नयाँ पद्धति र कार्यशैली नअपनाए पार्टीभित्रै संघर्ष चर्किन सक्ने चेतावनी पनि उनले दिएका छन् । “नेता परिस्थिति अनुसार जन्मिन्छन्, सामूहिक कामको आवश्यकता छ,” उनले भने ।

विद्यार्थीलाई संगठनमा सक्रिय बनाउने जिम्मेवारी नेतृत्वले लिनुपर्ने उल्लेख गर्दै रसाइलीले युवालाई आर्थिक आत्मनिर्भरता र वैचारिक दृढतामा अघि बढाउने खाँचो औंल्याए । “नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नगरेसम्म आन्दोलनको उद्देश्य अपूरो रहन्छ,” उनले स्पष्ट पारेका छन् ।

रुकुम पूर्वलाई केवल ‘माओवादी जिल्ला’को रूपमा मात्र सीमित नसोची समाजवादलाई व्यवहारिक बनाउन सबै कमरेडहरू अझ अग्रसर हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

प्रकाशित : ८ आश्विन २०८२, बुधबार, ,