रूकुमपूर्व। रुकुमपूर्वका किसान र सरोकारवालालाई लक्षित गर्दै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई र एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार रुकुमकोटस्थित बी.एल.बी. होटलको हलमा आयोजित विशेष गोष्ठीमार्फत कार्यक्रम र योजनाहरू सरोकारवालामाझ प्रस्तुत गरिएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख मिन बहादुर के.सी. र डिल्लीराज पौडेलले चालु आर्थिक वर्षमा लागू हुने विभिन्न कार्यक्रम र आयोजना सम्बन्धी योजनाबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए । साथै, सरोकारवालाबीच प्रत्यक्ष छलफल गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझावहरू संकलन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले जिल्लामा कृषकहरू अझै पनि फारम दर्ता र योजनामा मात्र सीमित रहेको उल्लेख गर्दै वास्तविक उद्यमशीलता विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएका छन् । उनले भकारो सुधार कार्यक्रम सञ्चालन भए पनि निर्माणपश्चात् प्रयोगमा कमी देखिने समस्याबारे विशेष सचेत रहनुपर्ने बताए ।
सो अवसरमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ र पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले रुकुम पूर्व कृषि र पशुपन्छी उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त जिल्ला भएकाले यस क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको जानकारी दिएका छन् । उनीहरूले जिल्लालाई “अर्गानिक जिल्ला” को रूपमा स्थापित गर्न उत्पादन हुने वस्तुहरूको ब्रान्डिङ, लेबलिङ र प्याकेजिङमा जोड दिने तथा यसका लागि आवश्यक बजेटसमेत सुनिश्चित गरिएको बताए।
कार्यक्रममा सहभागी अन्य सरोकारवाला निकायहरूले तीनवटै गाउँपालिका, कृषि तथा पशुपन्छी विकास कार्यालय र उत्पादनसँग सम्बन्धित संस्थाहरूले आपसी सहकार्य र समन्वयमा काम गरेमा जिल्लाको कृषि तथा पशुपन्छी क्षेत्रबाट उल्लेखनीय नतिजा हासिल गर्न सकिने धारणा राखेका छन् ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख डिल्लीराज पौडेलले प्राप्त सुझावअनुसार कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै अर्गानिक जिल्लाको अवधारणा सफल बनाउन निरन्तर छलफल र योजनाबद्ध काम अघि बढाइने बताए । उनले यस अभियानलाई सार्थक बनाउन जिल्लावासी सबैको सक्रिय सहभागिता अपरिहार्य हुनेमा जोड दिए ।
गोष्ठीको समापन गर्दै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रुकुम पूर्वका प्रमुख मिन बहादुर के.सी. ले सबैको सुझावलाई आत्मसात् गर्दै कार्यक्रमलाई सफल बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले सहभागीहरूलाई आगामी दिनहरूमा पनि कार्यालयका सेवा र योजनासम्बन्धी सुझाव दिन आग्रह गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ, तीनवटै गाउँपालिकाका अध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, आलु जोन संयोजक दल बहादुर घर्तीमगर, सञ्चारकर्मी, कृषि क्षेत्रका विज्ञ, सरोकारवाला तथा कृषि र पशु प्राविधिकहरूको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्वका अधिकृत थलराज बस्नेतले गरेका थिए।















प्रतिक्रिया