काठमाडौं, साउन १७ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेससँग भएको तीन बुँदे सहमति अनुसार आइतबार (साउन १८ गते) पदबाट राजीनामा दिने भएका छन्।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग इन्द्र बहादुर बानियाँ र लामा पक्षबीच संयुक्त छलफल भएको थियो। उक्त छलफलपछि सहमति जुटेको हो।
छलफलमा सहभागी नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार, मुख्यमन्त्री लामाले साउन १४ गते नियुक्त गरेका तीनजना मन्त्रीलाई शपथ गराउने, सरकार सञ्चालन लामा पक्षसँगको सहमतिमा गरिने, र त्यसपछि मुख्यमन्त्रीले राजीनामा दिने सहमति भएको हो।
मुख्यमन्त्री लामाले कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतक गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। तर, कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको निर्वाचनमा उनी इन्द्र बहादुर बानियाँसँग पराजित भएका थिए।
लामाले राजीनामा दिएपछि बागमती प्रदेशको नयाँ मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ बन्ने निश्चित भएको छ।



































प्रतिक्रिया