ललितपुर : एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा ललितपुरमा आज आयोजित छलफल कार्यक्रममा स्रोत व्यक्ति इन्जिनियर डा. दीपक प्रसाद बास्तोलाले देशको विकासमा इन्जिनियरहरूको नेतृत्व अपरिहार्य रहेको बताएका छन्।
तीन दशकभन्दा बढी नेपाली सेनामा सेवा, ५००० घण्टा हेलिकप्टर उडान, आठ पटकको प्रयासपछि फ्रान्सको पेरिसमा उच्च अध्ययनको लागि प्राप्त छात्रवृत्ति, काठमाडौँ विश्वविद्यालयबाट नेतृत्व तथा संस्थागत कार्यसम्पादन विषयमा विद्यावारिधि, अन्तर्राष्ट्रिय एभिएसन विज्ञ तथा हेलिकप्टर उडान प्रशिक्षकको लाइसेन्स, पाँचवटा पुस्तकका लेखक जस्ता बहुआयामिक अनुभव बोकेका डा. बास्तोलाले सिभिल इन्जिनियरिङ अन्तिम सेमेष्टरमा अध्ययनरत ५० जना विद्यार्थीहरूसँग विचार आदान–प्रदान गरेका थिए।
उहाँले अन्तर्राष्ट्रिय उडान सुरक्षाको दृष्टिकोणले नेपाल अझै पनि ‘ब्ल्याकलिस्ट’ मा रहेकोमा दुःख व्यक्त गर्दै त्यसबाट हट्न इन्जिनियरहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा राख्नुभयो। जीवन उपयोगी ज्ञानमा पढाइको १० प्रतिशत, सोच र चिन्तनको १० प्रतिशत र अनुभवको ८० प्रतिशत योगदान हुने बताउँदै, अनुभव प्राप्त व्यक्तिको सदुपयोग गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो।
सफल नेतृत्वको लागि दीर्घकालीन रूपमा मन, वचन र कर्ममा तादात्म्यता आवश्यक हुने उल्लेख गर्दै, बेलायतका तत्कालीन राजकुमार ह्यारीको नेपाल भ्रमणका बेला उहाँले चढ्ने हेलिकप्टर उडाउने जिम्मेवारी आफूले पाएको अनुभव पनि साझा गर्नुभयो। साथै, श्रमको सम्मान गर्न, पेशाको गरिमा कायम राख्न र कार्यक्षेत्रमा सक्रिय रहँदासम्म आफ्ना सीपहरू निरन्तर अद्यावधिक गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूका जिज्ञासाको उत्तर दिइएपछि, कलेजका तर्फबाट सिभिल विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओली र प्राचार्य इन्जिनियर प्रा.डा. हरिकृष्ण श्रेष्ठले डा. बास्तोलालाई मायाको चिनो प्रदान गरेका थिए।













प्रतिक्रिया