राजनिती

विद्या भण्डारीलाई रोक्ने प्रयास एमालेको सांगठनिक संकटको संकेत – प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) मा गम्भीर वैचारिक र सांगठनिक संकट देखिएको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यताबाटै रोक्ने प्रयास भएको बताए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि जनताको बहुदलीय जनवाद (जबज) का उत्तराधिकारी आफू मात्र भएको दाबी गरेर एकलाधिकार जमाउने प्रयास गरिरहेको आरोप पनि लगाए।

प्रचण्डले नेपाली कांग्रेसमा समेत नेतृत्त्वको संकट देखिएको टिप्पणी गर्दै भने, “विपी कोइराला र गिरिजाप्रसाद कोइरालाको विचारमाथि अपमानजनक व्यवहार भइरहेको छ। कांग्रेस र एमालेजस्ता प्रमुख दलहरू गम्भीर वैचारिक र राजनीतिक संकटमा परेका छन्।”

एमालेमा विशेष गरी जबजको विषयमा गहिरो विवाद देखिएको उल्लेख गर्दै उनले भने, “एमालेभित्र वैचारिक, राजनीतिक र नेतृत्वको त्रि-आयामिक संकट देखिएको छ। मदन भण्डारी र जबजको आधारमा टिकिरहेको पार्टीमा अहिले जबजको उत्तराधिकारी को हो भन्नेमा विवाद सुरु भएको छ। जबजको प्रवर्तक र प्रस्तावक को हुन् भन्ने प्रश्नसमेत उठेको छ, जुन गम्भीर संकटको संकेत हो।”

प्रधानमन्त्री ओलीले हालै मदन भण्डारीसँग सम्बन्धित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै प्रचण्डले थपे, “मदन भण्डारीका चार पत्नी थिए र सहकारी घोटालामा मुछिएका थिए भन्ने आरोप लगाएर शुरू भएको विवाद अहिले विद्यादेवी भण्डारीले आफैंलाई जबज र मदन भण्डारीको सच्चा उत्तराधिकारी ठान्दै अगाडि बढेकी छन्। यसले संकट झन् गहिरिएको छ।”

उनले निष्कर्षमा भने, “एमाले र कांग्रेस दुवैमा गम्भीर वैचारिक र राजनीतिक संकट छ। अहिले यस्ता संकटबाट मुक्त एक मात्र पार्टी माओवादी केन्द्र हो।”

प्रकाशित : १५ श्रावण २०८२, बुधबार, ,