रुकुम (पूर्व) — जनयुद्धको क्रममा घाइते तथा अपाङ्ग भएका योद्धाहरूको साझा आवाजलाई संस्थागत रूपमा अगाडि बढाउन “जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ” को प्रथम जिल्ला भेला भूमे गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
जिल्ला भेलाबाट भूलबहादुर कामी ‘अशल’को अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। समितिको उपाध्यक्षमा जयबहादुर मल्ल ‘प्रबन्ध’, सचिवमा भूमिका रोका, सहसचिवमा मणिकर्ण सुनार, र कोषाध्यक्षमा विन्दु रावल चयन भएका छन्। सदस्यहरूमा कामी रोका, डम्बर बुढा, सूर्य रोका र भूमीराज रोका रहेका छन् भने दुई सदस्य पछि मनोनीत गरिने जनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य रामसुर बुढा ‘बिरता’ले जनयुद्धमा अंग गुमाएका योद्धाहरूले अझैसम्म न्याय र सम्मान नपाएको उल्लेख गर्दै अब यो संगठनले साझा संघर्षको आवाजलाई बुलन्द बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, विशेष अतिथि भूमे गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठले स्थानीय सरकार घाइते योद्धाहरूको अधिकार, पुनर्स्थापना र जीविकोपार्जनका सवालमा संवेदनशील रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी अन्य नेताहरूले जनयुद्धको ऐतिहासिक मूल्य, घाइते योद्धाहरूको सम्मान, तथा राज्यको उत्तरदायित्वका विषयमा धारणा राखेका थिए।
भेलामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरू, लुम्बिनी प्रदेश समिति सदस्यहरू, जिल्ला तथा गाउँपालिकास्तरका पार्टी नेताहरूको उपस्थिति रहेको थियो।
भेलाले घाइते तथा अपाङ्ग योद्धाहरूको जीवनस्तर सुधार, उपचार तथा पुनर्स्थापनाका सवालमा सरकारसँग सुनुवाइ सुनिश्चित गर्ने तथा अधिकारका लागि सशक्त आवाज उठाउने निष्कर्ष निकालेको छ।



































प्रतिक्रिया