अमेरिकी उद्योगपति एलन मस्कले नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’ गठनको घोषणा गरेका छन्। उनले यो पार्टी रिपब्लिकन र डेमोक्र्याट दुवैबाट असन्तुष्ट ८० प्रतिशत मतदाताको प्रतिनिधित्व गर्ने बताए।
ट्रम्पसँगको पछिल्लो विवादपछि मस्कले नयाँ दलको विचार अघि सारेका हुन्। उनले सामाजिक सञ्जाल एक्समा गरिएको सर्वेक्षणको आधारमा पार्टी गठनको निर्णय लिएको जनाएका छन्।
पार्टीको औपचारिक संरचना, नेतृत्व र निर्वाचन आयोगमा दर्ता भएको विषयमा अझै स्पष्टता छैन। मस्कले सुरुवाती रूपमा सिनेटका केही सिट र हाउस अफ रिप्रेजेन्टेटिभका साना क्षेत्रमा ध्यान केन्द्रित गर्ने बताएका छन्।
ट्रम्प सरकारको नीतिको आलोचना गर्दै मस्कले हालैको बजेट विधेयकलाई ‘घृणित’ र ‘देशलाई टाट पल्टाउने’ भनेका थिए। ट्रम्पले पनि मस्कका कम्पनीहरूमाथि अनुदान कटौती र उनलाई अमेरिका छाड्नुपर्ने चेतावनी दिएका थिए।
राजनीतिक विश्लेषकहरूले मस्कको कदमलाई रणनीतिक दबाबको रूपमा व्याख्या गरेका छन्। उनीहरूले मस्कलाई पार्टी गठनभन्दा रिपब्लिकनमाथि दबाब सिर्जना गर्न चाहेको बताएका छन्।
मस्कले अगामी वर्षको मध्यावधि निर्वाचनलाई लक्ष्य बनाएर तयारी थालेका छन्। तर अमेरिकी निर्वाचन प्रणालीमा नयाँ दलका लागि संगठन, कोष, र राज्यगत कानुनी प्रक्रिया पार गर्नु चुनौतीपूर्ण रहेको विज्ञहरूले बताएका छन्।








प्रतिक्रिया