समाचार

सिस्नेमा दुई मोटरसाइकल ठोक्किँदा एक गम्भीर, एक सामान्य घाइते



रुकुमपूर्व, सिस्ने — सिस्ने गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गमा बुधबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् भने अर्का चालक सामान्य घाइते भएका छन्।

रुकुमकोटबाट धौलापहिरा जाँदै गरेको रा ७ प १२६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा २९ प ४४२७ नम्बरको मोटरसाइकल सिस्ने–५ को सडकखण्डमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–८ का २७ वर्षीय हेमराज वली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवले जानकारी दिनुभयो।

त्यसैगरी, दोस्रो मोटरसाइकल चालक भूमे गाउँपालिका–५, धौलापहिराका २५ वर्षीय कृष्ण खत्रीको शरीरमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

दुबै घाइतेको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको छ। घटना स्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ४ किलोमिटर पूर्वमा पर्ने सडकखण्डमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १८ असार २०८२, बुधबार, ,