home

दाङमा ट्याक्टर दुर्घटना : तीन विद्यार्थी घाइते, एकको अवस्था गम्भीर



दाङको बंगलाचुली गाउँपालिका–६ रिभानमा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये पुनम महराको अवस्था गम्भीर छ।

घाइते हुनेमा १५ वर्षीया आयुषा वि.क, १५ वर्षीया पुनम महरा र १४ वर्षीय नविन महरा छन्। गम्भीर घाइते पुनमलाई बंगलाचुली अस्पतालमा प्रारम्भिक उपचारपछि घोराही रेफर गरिएको छ भने अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको छ।

घोराहीबाट पाइप र वालुवा लिएर रिभानतर्फ जाँदै गरेको लु ४ त ९५१७ नम्बरको ट्याक्टर आइतवार दिउँसो करिब ५ बजे अनियन्त्रित भई दुर्घटना भएको हो।

सुधा मावि झेलनेटामा अध्ययनरत ती विद्यार्थीहरू विद्यालयबाट घर फर्किने क्रममा सोही ट्याक्टरमा चढेका थिए। ट्याक्टरको पछाडिको ढालामा बसेका उनीहरू सन्तुलन गुमाएर खसेर घाइते भएको जनाइएको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् र प्रहरीले खोजी कार्य जारी राखेको छ।

प्रकाशित : १५ असार २०८२, आइतबार, ,