रुकुम पूर्व । नेपाल सरकार, गृह मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/०८३ को माघ देखि चैत्र सम्मको तेस्रो त्रैमासिक अवधिमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले उल्लेखनीय सफलता हासिल गरेको छ ।
गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच हुने केन्द्रीय कार्यसम्पादन मूल्याङ्कन प्रणाली (CPAS) अन्तर्गत गरिएको मूल्याङ्कनको नतिजाअनुसार जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व लुम्बिनी प्रदेशभरिका जिल्ला प्रशासन कार्यालयमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ । साथै देशभर रहेका ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये सातौँ स्थान प्राप्त गर्दै कार्यालयले उत्कृष्ट कार्यसम्पादनको परिचय दिएको छ ।
यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले कार्यालयका सम्पूर्ण कर्मचारीहरूको समर्पण, इमान्दारिता, जिम्मेवारीबोध र निरन्तर मेहनतका कारण यो सफलता सम्भव भएको बताएकी छन् । उनले कार्यालयका सबै शाखामा कार्यरत कर्मचारीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सेवाप्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा नागरिकमैत्री बनाउँदै अझ उत्कृष्ट नतिजा हासिल गर्न निरन्तर प्रयास जारी रहने विश्वास व्यक्त गरिन् ।
प्रमुख जिल्ला अधिकारी परियारले भनिन्, “यो सफलता कुनै एक व्यक्तिको नभई सम्पूर्ण कर्मचारी टोलीको संयुक्त मेहनत, जिम्मेवारीबोध र सेवाप्रतिको प्रतिबद्धताको परिणाम हो । आगामी दिनमा यस उपलब्धिलाई कायम राख्दै अझ उच्च स्थान हासिल गर्ने लक्ष्यसहित हामी निरन्तर अघि बढ्नेछौँ ।”
गृह मन्त्रालयले निर्धारण गरेका विभिन्न कार्यसम्पादन सूचकहरूका आधारमा गरिएको मूल्याङ्कनमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, लागू औषध नियन्त्रण, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायतका क्षेत्रमा कार्यालयले गरेको कार्यसम्पादनको मूल्याङ्कन गरिएको थियो । ती सबै सूचकहरूमा हासिल भएको सकारात्मक उपलब्धिले जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वलाई प्रदेशकै उत्कृष्ट र देशभर सातौँ उत्कृष्ट कार्यालयहरूमध्ये एकका रूपमा स्थापित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको यो उपलब्धिले जिल्लामा सुशासन प्रवर्द्धन, सेवा प्रवाहको प्रभावकारिता, सार्वजनिक उत्तरदायित्व तथा नागरिक विश्वास अभिवृद्धि गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।



































प्रतिक्रिया