समाचार

गणतन्त्र नेपालको समावेशी आवाज सामुदायिक रेडियो पूर्वी रुकुम आठौं वर्षमा प्रवेश



रुकुम पूर्वको सामुदायिक रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज आफ्नो नियमित प्रसारणको सफल सात वर्ष पूरा गर्दै आठौं वर्षमा प्रवेश गरेको छ । “गणतन्त्र नेपालको समावेशी आवाज” भन्ने नारासहित सञ्चालित सामुदायिक रेडियोले यस अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण श्रोता, शुभेच्छुक तथा साझेदारहरूप्रति आभार व्यक्त गरेको हो ।
२०७६ सालको गणतन्त्र दिवसदेखि प्रसारण सुरु गरेको रेडियोले ग्रामीण क्षेत्रका नागरिकको आवाजलाई प्राथमिकतामा राख्दै सूचना, शिक्षा, स्वास्थ्य, महिला तथा दलित सशक्तीकरण, मानवअधिकार र स्थानीय सरोकारका विषयलाई निरन्तर उठाउँदै आएको जनाएको छ ।
सिस्ने गाउँपालिका- ५ काजिन्द्रामा रहेको रेडियोले एफ.एम. प्रसारणसँगै डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल तथा भिडियो सामग्रीमार्फत नयाँ पुस्तासम्म पहुँच विस्तार गर्दै प्रविधिमैत्री सञ्चार अभ्यासलाई समेत सशक्त बनाएको उल्लेख गरिएको छ ।

रेडियो सञ्चालक समितिका अध्यक्ष लाल बहादुर बिष्ट प्रभातद्वारा जारी प्रेस विज्ञप्तिमा रेडियोको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सरकारी तथा गैरसरकारी संघसंस्था, सुरक्षा निकाय, राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, पत्रकार, नागरिक समाज, विज्ञापनदाता तथा सम्पूर्ण श्रोताप्रति धन्यवाद व्यक्त गरिएको छ ।

रेडियोले आगामी दिनमा अझ जिम्मेवार, विश्वसनीय र समावेशी सञ्चारमार्फत समुदायको आवाजलाई थप सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ । त्यसैगरी आज बार्षिकोत्सवको अवसरमा रेडियो पूर्वीरुकुमका बोर्ड कमिटी अध्यक्ष तथा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले केक काटेर आठौं बार्षिकोत्सब मनाईएको छ । समाजसेवी चन्द्र रसाइली, बार्षिक उत्सबमा रेडियो सञ्चालक समिती अध्यक्ष लाल बहादुर बिस्ट प्रभात, रेडियो स्टेसन मेनेजर बसन्त बाठा मगर , रुकुम पूर्वका अन्लाईन सञ्चारमाध्यमहरुका सन्चालकहरु, रेडियोका कर्मचारीहरु लगायको उपस्तिथि रहेको थियो ।

प्रकाशित : १५ जेष्ठ २०८३, शुक्रबार, ,