home

व्यवस्था परिवर्तनको भूमिमा अब समाजवाद क्रान्ति गर्छु ः प्रचण्ड



नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक, पूर्वप्रधानमन्त्री एवम् नेकपा रुकुमपूर्वका प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) रुकुमपूर्वमा आउनु भएको छ । आज बिहीबार मध्यपहाडी लोकमार्ग हुँदै भूमे गाउँपालिका–१ लुगुम भएर भूमे–२ खाबाङ बगर आउनु भएको हो । प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्वका विभिन्न ठाउँमा जनभेटघाटका लागि आउनु भएको छ । जसमा भूमे–१ लुगुममा जनभेटघाट गर्नु भएको छ । प्रचण्ड समक्ष भूमे–१ वडाध्यक्ष मनकाजी पुनले वडाका विभिन्न योजना माग पेश गर्नु भएको छ ।

यसैगरी मावि लुगुमका प्रधानाध्यापक रामबहादुर पुन र शहीद परिवारले प्रचण्ड समक्ष विभिन्न योजना माग पेश गर्नु भएको हो । जिल्लावासीका माग योजना आफू निर्वाचित भएर पूरा गर्ने प्रचण्डले प्रतिवद्धता जनाउनुभयो । शहीद मार्गलाई पूर्णता दिने, शहीद परिवार, घाइते, बेपत्ता परिवारका लागि आफूले यस अघि पनि काम गरेको र थप काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । बाँकी रहेका काम अब निर्वाचित भएर पूरा गर्ने उहाँले बताउनुभयो । क्रान्तिको भूमि जिल्ला, गणतन्त्र व्यवस्था ल्याउने मुख्य भूमिका खेल्नु हुने रुकुम जिल्लालाई थप विकास गर्ने नेकपा रुकुमपूर्वका उम्मेदवार प्रचण्डले बताउनुभयो ।

गणतन्त्र व्यवस्थालाई थप बलियो बनाउँदै समाजवाद विकासको क्रान्ति गर्ने प्रचण्डले बताउनुभयो । गणतन्त्र व्यवस्था ल्याउने यस जिल्लाबाटै अब समाजवाद विकासको क्रान्ति गर्ने उहाँले बताउनुभयो । क्रान्तिकारी जिल्लाबाट फेरी नयाँ समाजवाद क्रान्ति गर्ने आफू रुकुमपूर्वका आएको प्रचण्डले बताउनुभयो । जनयुद्धकालमा पनि यही जिल्लामै पटकपटक आएर बसेको स्मरण गर्नु हुँदै उहाँले अब गणतन्त्र व्यवस्थालाई बलियो बनाउनेमा आफ्नो जोड रहेको बताउनुभयो । लुगुम गाउँ एक ऐतिहासिक गाउँ रहेकोले यस गाउँलाई नमुना गाउँको रुपमा विकास गर्ने पूर्वप्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

विभिन्न कला, संस्कृतिले धनी लुगुम गाउँको विकासलाई थप उच्चाइमा पु¥याउने योजना रहेको उहाँले बताउनुभयो । लुगुम जनजाति र दलित समुदायको बसोबास रहेको त्यस भित्र पनि एक महत्त्वपूर्ण झाँक्री संस्कृतिलाई थप जर्गेना गर्ने प्रचण्डले बताउनुभयो । माघ २९ गते देखि फागुन ६ गते सम्म प्रचण्डको उपस्थितिमा जिल्लाका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम र जनभेटघाट गर्नु हुने कार्यक्रम रहेको नेकपा रुकुमपूर्वका जिल्ला संयोजक कुमारी बराल गौतमले जानकारी दिनुभयो ।

प्रकाशित : ३० माघ २०८२, बिहिबार, ,