मंगलबार रातिदेखि परेको हिमपातका कारण बुधबारदेखि पूर्ण रूपमा अवरुद्ध रहेको पातिहाल्ना सडक खण्ड आज बिहीबार करिब दिउँसो २:३७ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पूर्वी भागले यसबारे जानकारी दिएको हो ।
बुधबार दिनभरजसो निरन्तर हिमपात भइरहेकाले सडकमा जमेको हिउँ पन्छाउन नसकिँदा सवारी आवतजावत ठप्प भएको थियो । आज बिहीबार मौसम केही अनुकूल भएपछि सडकमा जमेको हिउँ हटाई एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको हो ।
रुकुम पूर्वतर्फ भूमे गाउँपालिकाको समन्वयमा जेसीबी मेसिन प्रयोग गरी हिउँ पन्छाउने काम निरन्तर रूपमा भइरहेको छ ।
यद्यपि, एकतर्फी रूपमा सडक खुले पनि हिउँका कारण सडक अझै चिप्लो र जोखिमपूर्ण रहेकाले सवारी चालक तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाएर मात्र यात्रा गर्न जिल्ला ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।








प्रतिक्रिया