अनुग्रह एजिएफएन मण्डलीको जवान संगतिले आज जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई तातो टोपी र स्याउ वितरण गरेको छ ।
जवान संगतिका अगुवा प्रतिभा पुनका अनुसार सेवा कुनै बाध्यता होइन, विश्वासबाट उत्पन्न प्रेमको अभिव्यक्ति हो । येशु ख्रीष्टप्रतिको प्रेमकै कारण सबै जातजाति, समुदाय र देशप्रति निःस्वार्थ रूपमा सेवा गर्न प्रेरणा मिलेको छ ।
‘म बिरामी थिएँ, तिमीहरूले मलाई भेट्यौ’ भन्ने बाइबलिय शिक्षालाई व्यवहारमा उतार्दै पीडित, असहाय र बिरामीहरूप्रति सहानुभूति, करुणा र इश्वरीय प्रेम बाँड्ने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ ।
यसअघि पनि अनुग्रह एजिएफएन मण्डली रुकुमकोटले सरसफाइ कार्यक्रम, विद्यालयमा सेनिटाइजर, साबुन र मास्क वितरण तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक गतिविधिहरू गर्दै आएको छ । चर्चभित्र सीमित नरही समुदायसँग प्रत्यक्ष जोडिँदै शिक्षा, स्वास्थ्य र सामाजिक सचेतनाका क्षेत्रमा मण्डली सक्रिय रहँदै आएको छ ।
जिल्ला अस्पताल प्रशासन तथा सेवाग्राहीहरूले यस्ता सेवामूलक कार्यक्रमले समाजमा आपसी सद्भाव, प्रेम र सहयोगको भावना बलियो बनाउने बताएका छन् ।
मण्डलीले आगामी दिनहरूमा पनि सेवा र मानवताको महत्त्वपूर्ण सन्देश बोकेका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।








प्रतिक्रिया