home

विश्वकर्मा पूजामा हर्कबीर कामीलाई सम्मान



रुकुमपूर्व । विश्वकर्मा पूजा तथा वास्तु दिवसको अवसरमा जिल्लाका खलो प्रथा अन्त्यका पहिलो अभियान्ता हर्कबीर कामीलाई राष्ट्रिय दलित पत्रकार संघ नेपाल, रुकुमपूर्वले विशेष सम्मान गरेको छ ।

जिल्लामा पहिलोपटक खलो प्रथा अन्त्यका लागि अभियान सञ्चालन गरी त्यसलाई सफलतापूर्वक समाप्त गर्न महत्वपूर्ण भूमिका खेलेको र फलामको परम्परागत पेशालाई आधुनिक र व्यावसायिक बनाउन योगदान पुर्‍याएको भन्दै संघले कामीलाई सम्मान गरेको हो ।

स्वाभिमान आरन उद्योगमै पुगेर संघका अध्यक्ष निराजन सिर्पाली र सचिव किस्मत शेर्पालीले कामीलाई सम्मानपत्र प्रदान गरेका हुन् । सो अवसरमा रेडियो पूर्वी रुकुमका सञ्चालक समिति अध्यक्ष लालबहादुर विसी (प्रभात) र नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष बसन्त बाँठा मगरले अविर र खादा अर्पण गर्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा दलित अधिकारकर्मी उपेन्द्रलाल कामी, जिल्लाका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि र स्थानीय सरोकारवालाको पनि उपस्थिति थियो ।

सम्मान ग्रहण गर्दै स्वाभिमान आरन उद्योगका सञ्चालक हर्कबीर कामीले भने, “यो सम्मान व्यक्तिगत सन्तोष मात्र होइन, सम्पूर्ण समुदायको मेहनतको मान्यता हो । वर्षौंसम्म खलो प्रथाले दलित समुदायलाई दबाएको थियो, त्यसलाई अन्त्य गर्न गरेको हाम्रो प्रयासलाई आजको यो सम्मानले कदर गरेको छ । फलामको काम केवल पेशा होइन, हाम्रो पहिचान हो । यसलाई व्यावसायिक रूपमा अघि बढाउन अझ धेरै काम गर्न बाँकी छ ।”

उनले आगामी दिनमा दलित समुदायका युवालाई सीप विकास र आत्मनिर्भर बनाउन लक्षित कार्यक्रमलाई थप विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित : १ आश्विन २०८२, बुधबार, ,