समाचार

रुकुमपूर्वमा पनि Gen-Z पुस्ताको बृहत् आन्दोलन



रुकुमपूर्व। रुकुमपूर्व जिल्ला सदरमुकाममा पनि Gen-Z पुस्ताको आन्दोलन बृहत् रूपमा गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वदेखि रुकुमकोट जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय रुकुमपूर्व हुँदै स्थानीय तह सिस्ने गाउँपालिकासम्म जेन-जे पुस्ताले प्रदर्शन गरेका छन् ।

सामाजिक सञ्जाल प्रतिबन्ध, अभिव्यक्ति स्वतन्त्रता, रोजगारी, भ्रष्टाचार नियन्त्रण र शिक्षाका सवालमा देशभर फैलिएको Gen-Z पुस्ताको आन्दोलन रुकुमपूर्वमा पनि प्रतिध्वनित भएको हो। जिल्लाभरका युवाहरूले शान्तिपूर्ण भेला, नारा-जुलुस र प्रदर्शनमार्फत आफ्ना माग सार्वजनिक गरेका छन् ।

सोमबारदेखि सुरु भएको आन्दोलन क्रमशः तीव्र बन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय हुँदै विभिन्न सरकारी निकाय र सिस्ने गाउँपालिकासम्म पुगेको थियो । आन्दोलनकारीहरूले “सामाजिक सञ्जाल खोल”, “भ्रष्टाचार अन्त्य गर”, “रोजगारी सुनिश्चित गर”, “शिक्षा सबैका लागि” र “सरकार राजीनामा दे” जस्ता नारासहित प्रदर्शन गरेका थिए ।

आन्दोलनमा स्थानीय युवा नेताहरू चन्द्र रसाइली, सोहेल श्रेष्ठ, अम्मर खत्री, बिशाल गिरि, हरि ओलीलगायत अग्रपंक्तिमा देखिएका थिए । साथै, विभिन्न क्षेत्रका स्वतन्त्र युवा, बुद्धिजीवी, समाजसेवी तथा नागरिक समाजको समेत उल्लेखनीय समर्थन प्राप्त भएको थियो ।

स्थानिय युवाहरूले यो आन्दोलनलाई क्षणिक आक्रोश नभई भविष्य सुरक्षित गर्ने अभियानका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार, शिक्षा, रोजगारी र अवसरको सुनिश्चितता नभएसम्म नयाँ पुस्ता निराश बन्ने खतरा बढ्दै जानेछ ।

यसैबीच, रुकुमपूर्वकै कोइली शाही मृत्यु प्रकरण पनि आन्दोलनको मुख्य मुद्दा बनेको छ । आन्दोलनकारीहरूले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै चर्को नाराबाजी गरेका छन् ।

युवा पुस्ताको बढ्दो असन्तुष्टि र संघर्षले जिल्लास्थित राजनीतिक दल तथा स्थानीय निकायलाई पनि संवेदनशील बन्न बाध्य बनाएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले भने आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्थालाई कडाइ गरेको जनाएको छ ।

प्रकाशित : २४ भाद्र २०८२, मंगलबार, ,