रुकुमपूर्व । भूतपूर्व वडा अध्यक्ष स्वर्गीय जस बहादुर श्रीपालीसँगको छलफलपछि पेल्मालाई विद्युतको पहुँचमा पुर्याउनुपर्ने योजना अनुसार बजेट व्यवस्था गरी आज विद्युत उद्घाटन गर्न सफल भएको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तिले बताउनुभयो ।
झारलुङ्ग कारीखोला लघु जलविद्युत योजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष घर्तीले स्वर्गीय जस बहादुर श्रीपाली आज हामीसँग नभए पनि उहाँको सपना पूरा भएको र योजनाले सार्थकता पाएको बताउनुभयो । साथै, पेल्मासम्म सडक सञ्जाल विस्तार गर्नका लागि गाउँपालिकाले २ करोड ४० लाख रुपैयाँ बजेट व्यवस्था गरिसकेको जानकारी दिनुभयो । पेल्मा गाउँ आफैंमा स्याउ पकेट क्षेत्र भएकाले सडक सञ्जालको पहुँचमा पुगेपछि यहाँको स्याउलाई बजार पुग्ने अवसर बढ्ने अध्यक्ष घर्तीको भनाइ छ ।
यसै अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनले पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ अन्तर्गत हिम, गुइबाङ, जुनाङ र दुलेसम्म विद्युत विस्तारका लागि आवश्यक विद्युतीय सामग्रीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो कार्यकालमा भौतिक पूर्वाधार विकासमा कुनै कञ्जुस्याइँ नगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ स्थित झारलुङ्ग खोला लघु जलविद्युत योजना निर्माण सम्पन्न भई आज औपचारिक रूपमा उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुन र गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले संयुक्त रूपमा विद्युत बत्ती बालेर गर्नुभयो ।
उद्घाटन समारोह लघु जलविद्युत निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर कामीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिके, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य कालीप्रसाद रोका लगायतको उपस्थिति थियो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकेले विभिन्न चुनौतीका बाबजुद उपभोक्ता समितिको जोखिम उठाउने साहस र स्थानीयको सक्रियताले आज बत्ती बाल्न सफल भएको भन्दै प्रसंसा गर्नुभयो। उहाँले थप्नुभयो, “पर्यटनले भरिपूर्ण पेल्मा गाउँलाई वास्तविक पर्यटन हबका रूपमा विकास गर्न सके यहाँको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्नेछ ।” साथै, यहाँको प्राकृतिक सौन्दर्यसँगै निर्माण भएको भाइरल पुल हेर्नका लागि पर्यटक भित्र्याउन गाउँपालिका र स्थानीय बासिन्दा दुवैले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य कालीप्रसाद रोकाले हुकाम काजरङसम्म सडक पुग्दैन होला भन्ने कल्पना गरेको तर आज पेल्मासम्म सडक पुग्न लागेको देख्दा अत्यन्त खुशी लागेको बताउनुभयो। उहाँले १० वर्षे जनयुद्धबाट प्राप्त संघीयताले देशका कुना–काप्चासम्म विकासको लहर पुगेको पनि उल्लेख गर्नुभयो ।









प्रतिक्रिया