नेकपा माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टर नेपाल रुकुमपूर्वको तेस्रो बैठक सम्पन्न भएको छ । शुक्रबार सदरमुकाम स्थित युद्ध सङ्ग्रहालय ठाँटीडाँडामा उक्त बैठक सम्पन्न भएको हो ।
बैठकले विभिन्न निर्णय गरेको छ । जसमा प्रेस सेन्टर पालिका समितिको बैठक बस्ने मिति तोकेको छ । पुथाउत्तरगंगा गाउँ समिमितको बैठक २०८२ भदौ १६ गते तकसेरामा बस्ने बैठकले निर्णय गरेको छ । भने भूमे गाउँ समितिको बैठक २०८२ भदौ १८ खाबाङबगर र सिस्ने गाउँ समिति बैठक २०८२ भदौ १९ रुकुमकोटमा बस्ने निर्णय गरिएको छ ।
यसैगरी अनलाइन सञ्चार माध्यम दर्ता तथा नविकरण सम्बन्धी बनेको नयाँ विधेयकमा मिडिया दर्ता तथा नविकरण धेरै ठाउँमा नविकरण र दर्ता गर्नु पर्ने झन्झटिलो कार्यलाई सजिलो र कम ठाउँमा दर्ता तथा नविकरण गर्नु पर्ने व्यवस्था गर्नु पर्ने माग राखिएको छ । भने मिडिया दर्ता तथा नविकरण सञ्चार तथा सूचाना प्रविधि मन्त्रालय मातहतमा मात्र दर्ता तथा नविकरण गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयमा दर्ता तथा नविकरण गर्नु पर्ने विधेयक बनेकोले यसको ठाउँमा स्थानीय सरकारमा दर्ता तथा नविकरणको व्यवस्था गर्नु पर्ने माग राख्ने निर्णय गरिएको संगठनका प्रवक्ता विशाल घर्तीमगरले जानकारी दिनुभयो । भने नयाँ कानुनमा उल्लेख गर्नु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय समेत गरिएको घर्तीमगरले बताउनुभयो ।
यसैगरी जिल्लाको विकास निर्माण तथा जनताको अपेक्षा अनुसार पार्टी र जिल्ला स्थित जनप्रतिनिधिले पहलकदमी लिए/नलिएको अवस्थाबारे २०८२ असोज महिना भित्र संगठन, पार्टी र जिल्ला स्थित जनप्रतिनिधि बिच अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको छ । पत्रकार महासंघ सदस्यता नविकरण गर्न नेपाल पत्रकार महासंघ रुकुमपूर्वलाई अनुरोध गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ रुकुमपूर्वको जग्गा हाल सम्म पनि व्यवस्थापन हुन नसकेकोले जग्गा व्यवस्थापनका लागि पार्टी, जिल्ला समन्वय समिति र सिस्ने गाउँपालिकालाई ज्ञापन पत्र बुझाउने निर्णय गरिएको छ ।
प्रेस सेन्टर नेपाल रुकुमपूर्वको अध्यक्ष जयमान बुढामगरको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथिमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य एवम् जिल्ला सहइञ्चार्ज रामसुर बुढामगरको रहेको थियो । बैठकको विशेष अतिथिमा माओवादी केन्द्रका प्रदेश सदस्य एवम् संगठनका फ्याक्सन इञ्चार्ज लालबहादुर विष्ट (प्रभात) र माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव गोवद्र्धन बुढामगरको रहेकोमा अन्य अतिथिमा संगठनका वरिष्ठ नेता मैत्या घर्तीमगर, केन्द्रीय सदस्य सर्जना कार्कीको रहेको थियो । बैठकको स्वागत मन्तव्य संगठनका उपाध्यक्ष शिखर विश्वकर्माले राख्नु भएकोमा कार्यक्रमको सञ्चालन संगठनका सहसचिव विशाल घर्तीमगरले गर्नु भएको थियो ।








प्रतिक्रिया