home

रुकुमपूर्वबाट पौने ५९ करोड बजेट फिर्ता, प्रदेश सरकारको खर्च न्यून



रुकुमपूर्व — आर्थिक वर्ष २०८१/०८२ मा रुकुमपूर्वबाट ५८ करोड ८७ लाख ६ हजार ८३० रुपैयाँ बजेट खर्च हुन नसकी फिर्ता भएको छ।
संघीय र प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय तहहरूमा पठाइएको चालु तथा पुँजीगत बजेटमध्ये उल्लेखित रकम खर्च हुन नसकेको हो।
अघिल्लो वर्ष २०८०/०८१ मा ३८ करोड रुपैयाँ बजेट फिर्ता भएको थियो।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार, संघीयभन्दा बढी बजेट प्रदेश सरकारतर्फबाट खर्च हुन नसकी फिर्ता भएको हो।
लेखा नियन्त्रक हिरामणि गौतमका अनुसार, प्रदेश सरकारबाट ९२ करोड १४ लाख ७८ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा ५५ करोड ८ लाख २३ हजार ३९७ रुपैयाँ मात्र खर्च गरिएको छ।
३७ करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको हो।
यसअनुसार प्रदेशतर्फबाट प्राप्त कुल बजेटको ५९.८ प्रतिशत मात्र खर्च भएको देखिन्छ।
२०८०/०८१ मा यो प्रतिशत ८०.६२ प्रतिशत थियो।

संघीय सरकारतर्फ भने जिल्लामा २ अर्ब १५ करोड १२ लाख ४२ हजार ५६० रुपैयाँ बजेट आएकोमा ८९.९ प्रतिशत अर्थात् १ अर्ब ९३ करोड ३१ लाख ९० हजार ३३३ रुपैयाँ खर्च भएको छ।
संघीयतर्फ २१ करोड ८० लाख ५२ हजार २२५ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको लेखा नियन्त्रक गौतमले जानकारी दिनुभयो।

गत आर्थिक वर्षमा संघीय निकायहरूबाट २ करोड ५ लाख ६२ हजार ८७३ रुपैयाँ तथा प्रदेश निकायहरूबाट ७९ लाख ९४ हजार ८७६ रुपैयाँ गरी जम्मा २ करोड ८५ लाख ५७ हजार ७५० रुपैयाँ राजस्व संकलन भएको पनि उहाँले जानकारी दिनुभयो।

यद्यपि वित्तीय प्रगति कम देखिए पनि भौतिक प्रगति भने उल्लेख्य रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख थमप्रसाद पाण्डेयले बताउनुभयो।
उहाँका अनुसार ठेकेदारहरू समयमै भुक्तानी लिन नआएको र प्रदेश सरकारले अचानक भुक्तानी रोकिदिएको कारण वित्तीय प्रगति कमजोर देखिएको हो।

प्रकाशित : १० श्रावण २०८२, शुक्रबार, ,