समाचार

पाकिस्तानमा भारी वर्षाले ५४ जनाको ज्यान गयो, बाढीको जोखिम अझै कायम



एजेन्सी | पाकिस्तानमा गत २४ घण्टामा लगातार परेको मनसुनी वर्षाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएको छ । सरकारी विपद् व्यवस्थापन निकायका अनुसार यो मनसुन सुरु भएदेखि ज्यान गुमाउनेको संख्या १८० नाघेको छ ।

बुधबार बिहानदेखि विशेष गरी पञ्जाब प्रान्तमा परेको भारी पानीले बाढी ल्याएको छ । राजधानी इस्लामाबाद नजिकैको रावलपिन्डी सहरबाट बग्ने नदीमा पानीको सतह एक्कासी बढेपछि आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको हो ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार घाइते हुनेको संख्या २२७ पुगेको छ भने मृतकमध्ये धेरैजसो पञ्जाब प्रान्तका छन् ।
मनसुन सुरु भएको जुन २६ यता ७० बालबालिकासहित १८० जनाको मृत्यु भइसकेको जानकारी दिइएको छ । करिब ५०० जना घाइते छन् ।

अबको केही दिन अझै भारी वर्षा हुन सक्ने चेतावनी दिँदै रावलपिन्डीमा बिहीबार सार्वजनिक बिदा दिइएको छ ।
सरकारले जोखिमयुक्त ठाउँमा बसोबास गर्ने नागरिकलाई कम्तीमा ३ देखि ५ दिनका लागि खानेकुरा, पानी र आवश्यक औषधिसहितको तयारी गर्न आग्रह गरेको छ ।

सन् २०२२ मा यस्तै मनसुन बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबाएको थियो र १७ सय जनाको ज्यान गएको थियो ।
यसपटक पनि बाढीको जोखिम अझै कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित : २ श्रावण २०८२, बिहिबार, ,