समाचार

परदेशी सपनाको अन्त्य : लुइजियानामा दुई नेपाली युवाको कार दुर्घटनामा मृत्यु



काठमाडौं — अमेरिकामा अध्ययन गर्दै गरेका दुई नेपाली युवाको जीवन यात्रा एक दर्दनाक मोडमा रोकिएको छ। लुइजियाना राज्यको टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको शनिबार राति भएको भीषण कार दुर्घटनामा मृत्यु भएको छ।

स्थानीय मिडियाहरूका अनुसार उनीहरू चढेको सवारी साधन यूएस–८० राजमार्गको १६६ किलोमिटर खण्डमा अनियन्त्रित भई सडकबाट तल खस्दै रूखमा ठोक्किएको थियो। त्यसपछि गाडीमा आगो लाग्यो — र उनीहरूलाई बचाउने समय कसैसँग थिएन।

दुर्घटनामा गाडीमा चार जना थिए। राजन र रोजिनको घटनास्थलमै निधन भयो भने अन्य दुई साथी गम्भीर घाइते भएका छन्।

राजन र रोजिन — जो उज्जवल भविष्यको सपना बोकेर अमेरिका गएका थिए — अब भने मृत अवस्थामा आफ्नै देश फर्किँदैछन्।

लुइजियाना टेक विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी विभागले नेपालमा रहेका परिवारसँग मिलेर शव ल्याउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रकाशित : ३१ असार २०८२, मंगलबार, ,