३० असार, रुकुम पूर्व— रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुरामा अस्थायी रूपमा बसोबास गर्दै आएकी २५ वर्षीया कार्यालय सहायक कोइली शाही शनिबार बिहान ठीक ८:०० बजे आफ्नै कोठामा मृत अवस्थामा फेला परेपछि घटना विवादास्पद बनेको छ।
शाहीको परिवारले घटनालाई शंकास्पद ठहर गर्दै प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता गराएको छ। उक्त जाहेरी शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा दर्ता गरिएको छ।
परिवारका सदस्यहरूको आरोप छ कि खत्रीले पटक–पटक फोन गरेर शाहीलाई मानसिक रूपमा तनाव दिँदै आएका थिए, जसले उनको मानसिक स्वास्थ्यमा गहिरो असर पारेको थियो।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले घटनाबारे अनुसन्धान जारी रहेको र जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिको खोजी तीव्र पारिएको जानकारी दिए। उनले भने, “पोष्टमार्टम रिपोर्ट अझै आउन बाँकी छ भने मृतकको अन्त्येष्टि सम्पन्न भइसकेको छ।”
यस बीचमा, पत्रकार खत्री फरार रहेका छन् र अहिलेसम्म प्रहरीले उनको सम्पर्कमा पर्न सकेको छैन।
घटनाले सामाजिक सञ्जाल र स्थानीय समुदायमा निकै चर्चा र प्रतिक्रिया उत्पन्न गरेको छ।














प्रतिक्रिया