रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयमा एक शिक्षकले छात्रालाई पठाएको सन्देशका कारण विद्यालय तनावग्रस्त बनेको छ। सामाजिक शिक्षा विषयका शिक्षक रवीन्द्र प्रसाद साहले एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ भन्ने आपत्तिजनक सन्देश पठाएको आरोप लागेपछि विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दा आक्रोशित बनेका हुन्।
घटनापछि साहमाथि विद्यालय परिसरमै केही व्यक्तिले कुटपिट गरेको र आक्रोशित भिडले विद्यालयको सम्पत्तिमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रण बाहिर जान थालेपछि इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले भीडलाई तितरबितर पार्न एक राउण्ड अश्रुग्यास प्रयोग गर्नुपरेको थियो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार शिक्षक साहलाई नियन्त्रणमा लिइएको छ र घटनासम्बन्धी प्रारम्भिक अनुसन्धान भइरहेको छ।
विद्यालय प्रशासनले घटना गम्भीर भएकाले आन्तरिक छलफल तथा कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ।
स्थानीयले शैक्षिक संस्थाभित्र यस्ता गतिविधि दोहोरिन नदिन कडाइका साथ निगरानी गर्नुपर्ने माग गरेका छन्।














प्रतिक्रिया