जमुना गौतम पुन :-
रुकुम पूर्व, — जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बुधबार पत्रकारहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। प्रहरी कार्यालयमा आयोजित उक्त कार्यक्रममा चालु आर्थिक वर्षको बैशाख २४ गतेदेखि हालसम्मका प्रहरी गतिविधिहरूको प्रतिवेदन सार्वजनिक गरिएको थियो।
प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार वैशाख २४ देखि अहिले सम्म जिल्लाभर विभिन्न ८ वटा विपद् घटना रेकर्ड भएका छन् भने नागरिकता सर्जमिनका लागि ५२ वटा निवेदन प्रक्रियामा ल्याइएका छन्।
सवारी दुर्घटना न्यूनीकरणका लागि १३६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध ८५० वटा कारबाही गरिएका छन्।
लागू औषध तथा अवैध खेती नियन्त्रण अन्तर्गत सिस्ने गाउँपालिकाबाट अफिम तथा गाँजाका ५५७ बिरुवा, भूमे गाउँपालिकाबाट ३२ र पुथा उत्तरगंगा गाउँपालिकाबाट ५९ बिरुवा गरी कुल ६४८ बिरुवा नष्ट गरिएको जानकारी दिइयो। साथै विभिन्न स्थानबाट ५ थान भरुवा बन्दुक बरामद गरिएको छ।
हराएको र फेला परेको विवरण अनुसार चालु आर्थिक वर्षमा १३ जना व्यक्तिहरू फेला पारिएका छन् भने १ जना अझै हराइरहेका छन्। घरेलु तथा सामाजिक हिंसासम्बन्धी १२ वटा उजुरीहरूमध्ये ११ वटा उजुरी मिलापत्रमार्फत समाधान गरिएको र १ उजुरीको प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ।
कार्यक्रममा प्रहरीले विभिन्न सामुदायिक कार्यक्रमहरू तथा फोन र उद्धार सेवासम्बन्धी जानकारीसमेत प्रस्तुत गरेको थियो।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवले समुदायसँगको सहकार्यमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता प्रतिवेदन तथा समिक्षा कार्यक्रम नियमितरूपमा आयोजना गरिने जानकारी दिनुभयो।








प्रतिक्रिया