राजनिती

प्रचण्डको घोषणा: ०८४ बाट क्रान्तिको नयाँ यात्रा सुरु हुनेछ



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०८४ लाई नेपालको क्रान्तिकारी इतिहासमा नयाँ चरणको सुरुआतको वर्ष हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा आयोजित माओवादी पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनको भनाइमा, अबको आन्दोलन केवल नारा वा सिद्धान्तमा सीमित हुने छैन, तर त्यसमा जनभावना, सांस्कृतिक चेतना र सशक्त सहभागिता जोडिनेछ। “हामीले ०८४ लाई नेपाली क्रान्तिको नयाँ यात्रा सुरु गर्ने समयका रूपमा लिएका छौँ,” उनले भने, “यो यात्रामा तपाईंहरू सबैको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ।”

प्रचण्डले विगतको जनयुद्धका समयमा गीत, संगीत र नृत्यले जनतालाई उठाउन ठूलो भूमिका खेलेको कुरा पनि उल्लेख गरे। उनले जनताबीच भाषण, दर्शन वा नीति भन्दा बढी सांस्कृतिक अभिव्यक्तिले प्रभाव पारेको अनुभव सुनाए। “त्यसबेलाका गीतहरूले जनताको मुटु छुने काम गरे,” उनले भने, “अब पनि आगामी संघर्षमा यिनको भूमिका अझै गहिरो हुनेछ।”

कार्यक्रममा उनले पर्सा जिल्लाबाट माओवादीको ‘विजय यात्रा’ सुरु भइसकेको दाबी गर्दै देशभर पार्टीको जनाधार विस्तार भइरहेको बताए।

उनको धारणा अनुसार, आउँदै गरेको निर्वाचन र राजनीतिक संघर्षहरूमा माओवादी केन्द्रले फेरि नयाँ जोश, विचार र सांस्कृतिक चेतनाका साथ अघि बढ्नेछ।

प्रकाशित : २१ असार २०८२, शनिबार, ,