home

९ महिना पछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै



नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (सोमबार) दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। दुई–दुई महिनामा बस्नुपर्ने बैठक झण्डै ९ महिनापछि बस्न लागेको हो।

बैठकका लागि आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले ६ वटा एजेन्डा तय गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा भातृ संस्थाहरूको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीतिक विषयमा छलफल, १०० दिने अभियानको प्रतिवेदन तथा प्रदेश सरकारका मन्त्रीहरूको प्रगति विवरणबारे छलफल हुनेछ।

पार्टीको १०० दिने अभियानमा खटिएका प्रतिनिधिहरूले बैठकमा आफ्नो प्रतिवेदन पेश गर्नेछन् भने प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्ना मन्त्रालयको कामबारे जानकारी गराउनेछन्।

प्रकाशित : १६ असार २०८२, सोमबार, ,