एएफसी महिला एशियन कप छनोटअन्तर्गत नेपालले लाओसलाई ९-० को फराकिलो अन्तरले हराउँदै ऐतिहासिक जित दर्ता गरेको छ।
उज्बेकिस्तानको तास्कन्दमा भएको खेलमा नेपाली कप्तान सावित्रा भण्डारीले ह्याट्रिकसहित चार गोल गरिन्। अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मी घिसिङले समान एक–एक गोल गरे भने एक गोल लाओसकी खेलाडीबाट आत्मघाती रूपमा नेपालले पाएको हो।
साथै, यो खेल नेपालको महिला फुटबल टोलीको १००औं अन्तर्राष्ट्रिय खेल पनि हो।
यो जितपछि नेपालले समूह ‘एफ’ मा ३ अंक जोडेको छ। सो समूहमा नेपालसँगै लाओस, आयोजक उज्बेकिस्तान र श्रीलङ्का रहेका छन्।
नेपालले अब असार १८ गते श्रीलङ्का र असार २१ गते उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
महिला एशियन कप छनोटमा ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। समूह विजेताहरूले मात्रै आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कपमा स्थान बनाउने छन्। अस्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया भने पहिल्यै छनोट भइसकेका छन्।








प्रतिक्रिया