home

जन्मदिनको अवसरमा नेता कामीद्वारा नगद चेक हस्तान्तरण



नेकपा माओवादी केन्द्रका नेता तथा समाजसेवी उपेन्द्रलाल कामीले आफ्नो जन्मदिनको अवसरमा रुकुमकोट लायन्स क्लबलाई रू. १ लाख ४६ रुपैयाँ बराबरको नगद चेक हस्तान्तरण गरेका छन्। सिस्ने गाउँपालिका–५ स्थायी ठेगाना भएका नेता कामीले आइतबार उक्त क्लबलाई उक्त रकम प्रदान गरेका हुन्।

अधिकांश मानिसहरू जन्मदिनमा आफन्तसँग भोज, मनोरञ्जन वा सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर दिन बिताउँछन्। तर नेता कामीले भने सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उदाहरणीय कार्य गरेका छन्, रुकुमकोट लायन्स क्लबले जानकारी दिएको छ।

लायन्स क्लबले सञ्चालन गरिरहेको “स्वच्छता र हरियाली प्रवर्द्धन अभियान” अन्तर्गतको वृक्षारोपण कार्यक्रममा थप सहयोग पुगोस् भन्ने उद्देश्यले उनले उक्त सहयोग प्रदान गरेको क्लबले जनाएको छ।

चेक हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष हरि बहादुर ओली र उपाध्यक्ष मदन बि.सी.लाई उक्त रकम हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै नेता कामीले भने, “हरियाली र स्वच्छता कुनै एक संस्थाको मात्रै जिम्मेवारी होइन, यो सम्पूर्ण समुदायको साझा अभियान हो। व्यक्तिगत हैसियतबाट मैले गरेको यो सानो सहयोग अभियानमा टेवा पुग्ने विश्वास लिएको छु।”

रुकुमकोट लायन्स क्लबले हालै सुरु गरेको स्वच्छता र हरियाली प्रवर्द्धन अभियान अन्तर्गत वृक्षारोपण, सरसफाइ र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। क्लब अध्यक्ष ओलीले सहयोगप्रति आभार व्यक्त गर्दै भने, “यस्ता उदाहरणीय सहयोगहरूले हामीलाई अझ प्रेरित बनाउँछन्।”

क्लबको लक्ष्य रुकुमकोटलाई हरियालीयुक्त, सफा र व्यवस्थित शहरका रूपमा विकास गर्नु रहेको छ।

प्रकाशित : ५ श्रावण २०८२, आइतबार, ,