समाचार

सिस्ने गाउँपालिकाको पहलमा रुकुम पूर्व अस्पताल जाने बाटो मर्मत



रुकुमपूर्वको स्वास्थ्य संस्था रुकुमपूर्व अस्पताल जाने बाटो मर्मत गरिएको छ । सिस्ने गाउँपालिकाको पहलमा उक्त बाटो मर्मत गरिएको हो ।

वर्षौंदेखि जिर्ण अवस्थामा रहेको बाटो हुँदै बिरामीलाई जिल्ला अस्पतालसम्म पुग्न निकै कठिन हुने हुँदा सिस्ने गाउँपालिकाले उक्त बाटो मर्मत गरेको छ । बिग्रिएको सडकका कारण बिरामीलाई अस्पतालसम्म पुर्‍याउन अटो, एम्बुलेन्स तथा चार पाङ्ग्रे सवारीसाधन प्रयोग गर्दा पनि जोखिम युक्त भएको भन्दै पलिकाले जिल्ला अस्पतालमा जाने बाटो मर्मत गरेको सिस्ने गाउँपालिकाको सचिवालयले जनाएको छ ।

यस समस्याले जनस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको महसुस गर्दै श्रावन १ गतेदेखि जिल्ला अस्पताल र सिस्ने गाउँपालिकाको सहकार्यमा सडक मर्मतको काम सुरु गरिएको जिल्ला अस्पताल रुकुमपूर्वका निमित्त प्रमुख डाक्टर कृष्ण खरालले बताए। सडक सुधारका कारण बिरामीलाई अस्पताल सम्म पुर्याउन सहज हुने अपेक्षा गर्दै निमित्त प्रमुख खरालले यस्तो समाधानलाई दीर्घकालीन रूपमा अगाडि बढाउन अपिल गरेका छन् ।

जिल्ला अस्पतालसम्म जाने बाटो बिरामी बोकेर जान निकै जोखिम भएको हुँदा तत्काल स्काभेटरको प्रयोग गरी मर्मत कार्य सुरु गरिएको सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले बताए ।

स्वास्थ्य सेवा नागरिकको प्राथमिक अधिकार हो भन्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जिल्ला अस्पतालसम्म पुग्ने बाटो व्यवस्थित गर्न तर्फ लाग्नु पर्नेमा जोड दिए। बाटो मर्मतको लागि पालिकाको तर्फबाट सक्ने प्रयास गरेको भन्दै मर्मतको खर्च सम्पूर्ण पालिकाले व्यहोर्ने र संघीय तथा प्रदेश सरकारको तत्काल ध्यानाकर्षण हुनु पर्नेमा जोड दिए।

सडक मर्मतसँगै रुकुमपूर्व जिल्ला अस्पतालमा स्वास्थ्य सेवा लिने नागरिकहरूलाई सहज हुने अपेक्षा गरिएको छ। स्थायी समाधानका लागि दीर्घकालीन योजना र बजेटको सुनिश्चितता अपरिहार्य देखिएको अध्यक्ष रेग्मीले बताए ।

प्रकाशित : ३ श्रावण २०८२, शुक्रबार, ,