‘माग्ने बुढा’ नामले चिनिएका चर्चित हास्यकलाकार तथा अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको कुरा असत्य भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “मैले ६१ लाख लिएको हैन, कति लिएको भन्ने कुरा खुलाउन चाहन्न, तर त्यो रकम होइन।”
केदारका अनुसार फिल्मको प्रचारका लागि निर्माता मुनाल घिमिरेले बोल्न आग्रह गरेपछि उनले त्यो कुरा सार्वजनिक रूपमा बोलेका हुन्।
उनले भने, “दाइले भने – हाइप चाहिन्छ, चर्चा हुनुपर्छ, जे भने पनि फिल्मबारे हल्ला हुनु जरूरी छ। त्यसैले त्यस्तो बोलेको हुँ।”
यसअघि फिल्म माग्ने राजा को पत्रकार सम्मेलनमा निर्माता मुनाल घिमिरेले ‘केदारलाई ६१ लाख तिरेको’ बताएका थिए। त्यसपछि केदारलाई नेपालका सबैभन्दा महंगा कलाकारको रूपमा केही मिडियाले लेखेका थिए।
तर हालैको छायांकनमा मुनाल आफैंले पनि त्यो कुरा हाइपका लागि मात्र भनिएको स्वीकार गरिसकेका छन्। यो कुरा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ शोमार्फत तीन हप्ता पछि प्रसारण हुने जानकारी छ।
केदारले भने, “यदि कसैले प्रमाण दिन सक्छ कि मैले ६१ लाख लिएको छु भने, म त्यही पैसा उसैलाई दिन तयार छु।”
केदारको मुख्य भूमिका रहेको फिल्म माग्ने राजा यस तीजमा प्रदर्शन हुँदैछ। साथै, दशैंमा माइतीघर, तिहारमा जेरी अनटप, र फागुनमा जहाजैमा पनि प्रदर्शन तयारीमा छन्। उनले यो वर्षको तिहार अमेरिकामै बिताउने जानकारी दिएका छन्।














प्रतिक्रिया