राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सुत्केरी हुन आएकि एक युवतीको मृत्यु भएपछि आफन्तहरूले आक्रोशित हुँदै आन्दोलन गरेका छन्।
घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोलकी २१ वर्षीया गुड्डी सुनारलाई आज बिहान ४ बजे सुत्केरी पीडा भएपछि अस्पताल ल्याइएको थियो। बिहान १० बजेसम्म सामान्य रूपमा बच्चा जन्मिने भनिए पनि अवस्था जटिल भएपछि शल्यक्रियामार्फत बच्चा जन्माइएको थियो। छोरीको जन्म भए पनि केही समयमै गुड्डीको मृत्यु भएको हो।
मृतकका आफन्तहरूले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। उनीहरूले आक्रोशमा आएर अस्पतालको अपरेशन कक्षमा पसेर चिकित्सकमाथि हातपात समेत गरेको अस्पताल प्रशासनले जनाएको छ।
गुड्डीका ससुरा महाबीर सुनारले चिकित्सकको लापरबाहीले बुहारीको ज्यान गएको भन्दै दोषीको कारबाही र क्षतिपूर्ति नपाएसम्म शव नउठाउने बताएका छन्। साथै नवजात शिशुको उपचारको जिम्मा अस्पतालले लिनुपर्ने माग पनि राखिएको छ।
यस विषयमा प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले घटना सम्बन्धी जानकारी सङ्कलन भइरहेको बताउँदै सत्यतथ्य विवरण पछि सार्वजनिक गरिने जानकारी दिनुभयो।








प्रतिक्रिया