समाचार

७३ जिल्लामा डेँगु संक्रमण, काठमाडौंमा सबैभन्दा धेरै संक्रमित



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७८ पुस १७ देखि २०८२ असार १८ गतेसम्म देशभर १ हजार ६ सय ७३ जना डेँगु संक्रमित भेटिएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हिमाली चार जिल्ला डोल्पा, हुम्ला, मनाङ र रसुवामा भने हालसम्म डेँगु संक्रमण नदेखिएको जानकारी दिए।

प्रदेश अनुसार सबैभन्दा धेरै वागमती प्रदेशमा ४०४ जना संक्रमित भेटिएका छन्। त्यसपछि गण्डकी प्रदेशमा ३५८ र कोशी प्रदेशमा ३३४ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्ला अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७८, कास्कीमा १३४ र सुनसरीमा १०५ जना संक्रमित भेटिएका छन्।

डा. बुढाथोकीका अनुसार डेँगु लाग्दा उच्च ज्वरो, जोर्नी तथा मांशपेसी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने वा वान्ता हुने लक्षण देखिन्छन्। तर करिब ८० प्रतिशत संक्रमितमा कुनै लक्षण नदेखिने पनि बताए।

त्यस्तै, कोभिड–१९ को संक्रमण पनि केही जिल्लामा फेरी देखिन थालेको मन्त्रालयले जनाएको छ। पुस १७ गतेदेखि असार १८ गतेसम्म ३१ जिल्लामा २४३ जना संक्रमित भेटिएका छन् भने पछिल्लो एक सातामा मात्रै ३५ जनामा संक्रमण पुष्टि भएको छ।

कोभिडको जोखिमलाई ध्यानमा राख्दै सरकारले १७ नाकामा हेल्थ डेस्कमार्फत निगरानी बढाएको प्रवक्ता बुढाथोकीले जानकारी दिए।

बुढाथोकीका अनुसार कोशी प्रदेश: पशुपतिनगर, मेची, रानी, मधेस प्रदेश: मदर, बिर्तामोड, गौर, इनरुवा, वीरगञ्ज, लुम्बिनी प्रदेश: गलैया, कृष्णनगर, जमुना, गण्डकी प्रदेश: त्रिवेणी, सुदूरपश्चिम प्रदेश: त्रिनगर, गड्डाचौकी, झुलाघाट, कुलाघाट, टिकापुर र हवाई नाका: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निगरानीमा रहेका १७ नाका हुन् ।

डा. बुढाथोकीले स्वास्थ्य बीमा ऐन र नियमावली अनुसार अबदेखि विमितहरूले पहिलो सेवाबिन्दु सरकारी स्वास्थ्य संस्थामै लिनुपर्ने व्यवस्था लागू गरिएको पनि जानकारी गराए।

प्रकाशित : २० असार २०८२, शुक्रबार, ,