समाचार

रुकुम पूर्वमा तीन दिने पत्रकारिता तालिम सम्पन्न



रुकुम पूर्वमा पत्रकारिता गर्न इच्छुक युवाहरूलाई लक्षित गर्दै तीन दिने आधारभूत पत्रकारिता तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। असार १७ गतेदेखि १९ गतेसम्म मल्ल होटल, रुकुमकोटमा सञ्चालन भएको तालिम बिहीबार समापन गरिएको हो।

उक्त तालिम सूचना तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौंको आर्थिक सहयोगमा, नेपाल प्रेस युनियन, प्रेस चौतारी, बुकिन्युज लगायतका संस्थाहरूको समन्वयमा तथा एचडीसी – हेल्वेटास डेभलपमेन्ट काउन्सिल, रुकुम (पूर्व भाग) को आयोजनामा सम्पन्न भएको हो।

प्रेस चौतारी रुकुम पूर्वका अध्यक्ष राजन गौतमका अनुसार तालिमको उद्देश्य जिल्लामा नयाँ पत्रकार उत्पादन गर्नु तथा पत्रकारिताप्रति युवाहरूको चासो र दक्षता अभिवृद्धि गर्नु रहेको थियो।

तालिममा प्रशिक्षक गणेश केसी र महेश केसीले समाचार लेखन, रिपोर्टिङ, प्रेस स्वतन्त्रता, आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए। पत्रकारितामा रुचि राख्ने करिब दुई दर्जन सहभागीहरूको उपस्थिति रहेको थियो।

समापन सत्रमा प्रमुख अतिथि सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा जिम्मेवार र सक्रिय पत्रकारहरूको खाँचो रहेको बताए। उहाँले ग्रामिण समस्याहरू उजागर गर्न सचेत र उत्तरदायी पत्रकारको आवश्यकता रहेकोमा जोड दिनुभयो।

उपाध्यक्ष रेउले तालिमले सहभागीहरूलाई स्थानीय तहमा जिम्मेवार पत्रकारिता अभ्यास गर्न र नीतिगत रूपमा सशक्त भूमिका निर्वाह गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित : १९ असार २०८२, बिहिबार, ,