समाचार

तातोपानी नाकाबाट पहिलोपटक हेलिकप्टर भित्रियो



नेपाल–चीन सीमाको तातोपानी भन्सार नाकाबाट बुधबार पहिलोपटक हेलिकप्टर आयात भएको छ। माउन्टेन हेलिकप्टर प्रालिले फ्रान्समा निर्मित एयरबस कम्पनीको हेलिकप्टर चीनको बाटो हुँदै ४० फिटे कन्टेनरमा ल्याएको हो।

कम्पनीका कर्पोरेट प्रबन्धक रामचन्द्र भुसालका अनुसार, हेलिकप्टरका पंखा र अन्य भागहरू अलग गरेर कन्टेनरमा राखिएको थियो। हाल तातोपानीमै त्यसलाई पुनः जडान गरी परीक्षणपछि काठमाडौँ ल्याइनेछ।

तातोपानी भन्सार प्रमुख राजेन्द्र प्रसाद चुडालले आफूले पहिलोपटक यस नाकाबाट हेलिकप्टर भित्रिएको देखेको बताए। उनका अनुसार हेलिकप्टर भन्सार प्रक्रियामा एक प्रतिशत महसुल र १३ प्रतिशत भ्याट लाग्नेछ।

चीनबाट नेपाल आउने दुई प्रमुख नाकामध्ये टिमुरेभन्दा तातोपानी सहज भएकाले यसपटक सो मार्ग रोजिएको हो। कम्पनीका अनुसार, समुद्री मार्ग प्रयोग गरेमा झण्डै एक महिना लाग्ने भए पनि तातोपानीबाट ८–१० दिनमै हेलिकप्टर ल्याउन सकिएको हो।

हेलिकप्टर जाँचपासपछि माउन्टेन हेलिकप्टरको नियमित उडानमा प्रयोग हुनेछ। यससँगै कम्पनीसँग तीनवटा हेलिकप्टर हुनेछन्।

प्रकाशित : १९ असार २०८२, बिहिबार, ,