संघीय निजामती सेवा विधेयक संसदबाट पारित हुने क्रममा गम्भीर षड्यन्त्र भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीव्र आपत्ति जनाएका छन्।
आज पेरिसडाँडामा आयोजित वाइसिएल नेपालको केन्द्रीय पदाधिकारी बैठकमा उनले उक्त विधेयकमा चलखेल र छेडछाड गरिएको उल्लेख गर्दै दोषी पहिचान गरी छानबिनसहित कारबाही अघि बढाइने बताए। “परिवर्तनका उपलब्धि उल्ट्याउने प्रयासहरू भइरहेका छन्। अब हामी चुप लाग्दैनौं,” उनले भने।
उनले संविधान र जनताको बलिदानबाट प्राप्त संघीयता र अधिकारमाथि पुनः प्रहार भइरहेकाले वाइसिएललगायत पार्टी संगठनहरू जागरुक र सशक्त भएर प्रतिकारमा उत्रनुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष दाहालले पार्टीको विचार, नीति र विधान जनतासमक्ष लैजानु अहिलेको प्रमुख कार्य भएको उल्लेख गर्दै संगठनलाई त्यसमा क्रियाशील बन्न निर्देशन दिए। साथै, वर्षायामपछि सुरु गरिने मध्यपहाडी लोकमार्ग अभियान र त्यसपछि हुने संगठन निर्माण अभियानमा वाइसिएलको सक्रिय सहभागिता आवश्यक रहेको बताए।














प्रतिक्रिया