home

फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक, सौगात र बेनिशाको फरक जोडीमा देखिएको प्रेम–सङ्घर्ष



नायक सौगात मल्ल र नायिका बेनिशा हमालको मुख्य भूमिका रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘सिटामोल’ को टिजर सार्वजनिक भएको छ। साउन २३ गतेलाई प्रदर्शन मिति तोकिएको यो फिल्मको टिजर राष्ट्रिय धान दिवसको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो ।
“जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर” भन्ने रोचक संवादले सुरु हुने टिजरले ग्रामीण जनजीवनको पीडा र प्रेमलाई प्रभावशाली ढङ्गमा प्रस्तुत गरेको देखिन्छ ।


सौगात मल्ल खुट्टामा समस्या भएका युवकको भूमिकामा देखिन्छन्, जसले विवाहसमेत बैशाखीको सहारामा गर्दैछन्। अर्कोतर्फ, बेनिशा हमाल प्रेमिकाका रूपमा प्रस्तुत भएकी छन्, जसले जीवनको सङ्घर्षलाई प्रेमसँगै बाँधेर लैजाने प्रयास गर्छिन् ।


टिजरबाटै यो बुझ्न सकिन्छ कि आर्थिक संकट र सामाजिक चुनौतीबीच जोडीको सम्बन्धमा चिसोपन आउँछ, र त्यही द्वन्द्वमा आधारित छ फिल्मको मूल कथा ।


सौगात र बेनिशासँगै लोकेन्द्र लेखक, करण परियार, आराध्या राज्यलक्ष्मी डीसी लगायतका कलाकारहरुको उपस्थिति रहेको टिजरले दर्शकको चासो बढाएको छ ।


तुल्सी देवी फिल्म प्रालिको निर्माण र जुनतारा फिल्मस्को सहकार्यमा बनेको ‘सिटामोल’ को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले संयुक्त रूपमा लेखेका हुन्। सिमोस सुनुवार फिल्मका प्रस्तुतकर्ता हुन् ।
ग्रामीण जीवन, प्रेम र संघर्षको कथा बोकेको ‘सिटामोल’ ले नेपाली दर्शकको मन छुने अपेक्षा गरिएको छ ।

प्रकाशित : १५ असार २०८२, आइतबार, ,