जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको आयोजनामा सम्पन्न सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरण सम्बन्धी छलफल कार्यक्रममा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको छ ।
हालै रुकुमकोटबाट जलजला तर्फ जाँदै गरेको तीर्थयात्री बोकेको लु १ ज ४१६७ नम्बरको जीप थबाङ गाउँपालिका–१ को सल्यापस्थित थबाङ–जलजला सडक खण्डमा दुर्घटना हुँदा २० जनाको मृत्यु तथा १ जना घाइते भएको घटनापछि जिल्ला प्रशासनले सरोकारवालासहित छलफल आयोजना गरेको हो। कार्यक्रममा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो ।
छलफलबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ । जसअनुसार स्वीकृति नलिई सवारी साधनको सिट संख्या, इन्जिन तथा चेसिस परिवर्तन गर्न नपाइने निर्णय गरिएको छ। त्यस्तै रुट परमिटबिना कुनै पनि सार्वजनिक सवारी सञ्चालन गर्न रोक लगाइने भएको छ ।
बारम्बार ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कडा कारबाही गर्ने निर्णय पनि गरिएको छ। पाँच पटकभन्दा बढी सवारी शर्त उल्लंघन गर्ने चालकको अभिलेख ट्राफिक प्रहरी कार्यालयले राख्ने र त्यस्ता चालकको अनुमतिपत्र ६ महिनासम्म निलम्बन गरिने जनाइएको छ ।
त्यसैगरी चालक अनुमतिपत्र समयमै नवीकरण नगर्ने चालकलाई आवश्यक कारबाही गर्ने, रात्रीकालीन सवारी साधनमा CCTV जडान अनिवार्य कार्यान्वयन गराउने तथा जिल्लाभित्र सञ्चालन हुने सवारीमा क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने चालकलाई तत्काल कारबाही गर्ने निर्णय गरिएको छ ।
विशेषगरी गाडीको छत हटाएपछि पनि सिट क्षमताभन्दा बढी यात्रु गाडिभित्र राखी जोखिमपूर्ण यात्रा गराइएको गुनासो आएकाले ट्राफिक प्रहरीलाई निगरानी र कारबाही प्रभावकारी बनाउन निर्देशन दिइएको छ । साथै सरोकारवाला निकायलाई समेत त्यस्ता गतिविधिको निगरानी गरी जानकारी उपलब्ध गराउन आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख, तीनवटै गाउँपालिकाका अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, यातायात व्यवसायी, पत्रकार महासंघ रुकुम पूर्व तथा जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो ।।















प्रतिक्रिया